देउवाले मन्त्रिपरिषद्मा पार्टीभित्रको सन्तुलन मिलाउन नसकेको डा महतको आरोप

काठमाडौं । नेपाली कांग्रेसका नेता डा रामशरण महतले प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्मा पार्टीभित्रको सन्तुलन मिलाउन नसकेको आरोप लगाएका छन् । पार्टीमा रामचन्द्र पौडेल समूहसँग छलफल र परामर्श नगरी मन्त्री बनाइएको उनको टिप्पणी छ ।

नेता डा महतले भने, ‘पार्टीभित्र सन्तुलन कायम गरेर मन्त्री बनाउने हाम्रो परम्परा नै हो । त्यसैले एक पक्षको मात्र मन्त्री बनाउन मिल्दैन । प्रधानमन्त्रीले रामचन्द्र पौडेलसँग परामर्श गर्छु त भन्नुभएको छ तर गर्नुभएको छैन । मिलाउँछु, हुन्छ, हुन्छ त भन्नुहुन्छ, तर अहिलेसम्मको मन्त्रीबारे छलफल गर्नुभएको छैन । हामी नेतृत्वलाई सहयोग गर्न तयार छौं । हामी भागबन्डाभन्दा पनि सन्तुललित, सही र उपयुक्त मान्छे हुनुपर्छ भन्ने पक्षमा छौं ।’ डा महतले परराष्ट्र मन्त्रीमा डा नारायण खड्काको नियुक्ति उचित भएको पनि बताए ।

डा महतले पार्टीको नवौं महाधिवेशनमा सभापतिमा को उठ्ने भन्ने बहस गरिरहनु नपर्ने पनि बताए । उनले थपे, ‘सभापति वा पदाधिकारी को हुने भन्ने कुरा मनोनयन दर्ताको दिन थाहा हुन्छ । को हुन्छ, को हुँदैन भन्ने खालको व्यक्तिगत बहस गर्नु जरुरी छैन । म त सकेसम्म निर्विरोध नै होस् भन्ने चाहन्छु । सहमतिमै मनोनयन दर्ता होस् चाहन्छु । हाम्रो समूहले एक भएर उम्मेदवारी हुनुपर्छ भन्ने कार्यकर्ता पंक्तिको दबाब छ । त्यसलाई अन्यथा मान्न पनि मिल्दैन ।’

क्रियाशील सदस्यता वितरणमा धेरै विकृति भएकाले एकै दिन वडा र पालिका अधिवेशन गर्न कठिन भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *