काठमाडौँ । सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा सबै विषयमा छलफल भएपनि निष्कर्ष भने ननिस्किएको नेताहरुले बताएका छन् ।
कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकार विस्तारलगायतका विषयमा छलफल भएपनि ठोस सहमति नभएको जानकारी दिए । उनका अनुसार संसद् सञ्चालन र सरकारले पेस गर्न लागेको विधेयकका विषयमा भने आंशिक रुपमा सहमति जुटेको छ ।
मन्त्रिपरिषद् विस्तारमा गठबन्धन सम्बद्ध दलहरुका बीचमा शक्ति बाँडफाँट गर्ने र छिटो मन्त्रिपरिषद् विस्तारबारेको छलफल सकारात्मक रुपमा अघि बढेको उनले बताए ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बैठकमा नयाँ कुरा भएपनि ठोस निष्कर्ष भने ननिस्किएको जानकारी दिए । उनले छिटोभन्दा छिटो मन्त्रिपरिषदता पूर्णता दिनुपर्छ भन्ने कुरा भएको बताए ।
बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेशबारे एक दुई दिनमै निकास निकालेर जसपा र एकीकृत समाजवादीलाई समेटेर मात्र थप मन्त्री नियुक्त गरिने सहमति भएको उनले बताए ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का, माओवादीका नेता नारायणकाजी श्रेष्ठ र कानुनमन्त्री ज्ञानेन्द्र कार्की सहभागी थिए ।