सरकारले एमालेलाई जबर्जस्ती मुठभेडतिर धकेल्न खोजिरहेको छ : भट्टराई

काठमाडौं । नेकपा एमालेका विदेश विभाग प्रमुख डा राजन भट्टराईले सरकारका निकम्मा र जनविरोधी निर्णयको विरुद्धमा संसद्देखि सडकसम्म जाने बताएका छन् । आफ्नो पार्टी मुठभेडमा जान नचाहे पनि गठबन्धन सरकारले त्यतातिर जबर्जस्ती धकेल्न खोजिरहेको उनको दाबी छ ।

डा भट्टराईले भने, ‘हामीले सरकारका निकम्मा कामको निरन्तर विरोध गरिरहेका छौं । सभामुखको गलत रवैयाविरुद्ध संसद्मा अवरुद्ध गरिरहेका छौं । सदनभित्र र आवश्यक परेमा बाहिर पनि विरोधमा जान्छौं । सरकारले गरेका गम्भीर बदमासीलाई प्रतिपक्षले टुलुटुलु हेरेर बस्दैन । सदनदेखि सडकसम्म जानु हाम्रो अधिकार हो ।’

एमाले विधान महाधिवेशनदेखि महाधिवेशनसम्मको तयारीमा लागे पनि सरकारका गलत क्रियाकलापलाई नियालिरहेको उनले बताए । उनले भने, ‘हामीले ४१ म्हिनासम्म मुलुकलाई आर्थिक विकास, समृद्धि र सामाजिक रुपान्तरणमा हिँडाउन प्रयास गरेका हौं । यो सरकारले पनि कानुनले दिएका काम मात्र गरोस् भन्ने चाहन्छौं । सरकारले हाम्रो कार्यालयमा पुलिस प्रशासन लगाएर गुन्डागर्दी गरिरहेको छ । हामी त्यसको सशक्त प्रतिवाद गर्छौं । तर हामी मुठभेडमा जान चाहँदैनौं । मुठभेड हाम्रो प्राथमिकता होइन ।’

७० दिन हुन लाग्दा पनि मन्त्रीमण्डल विस्तार गर्न नसकेको सरकारले विभिन्न कूटनीतिक मिसनमा रहेका राजदूत फिर्ता गरेर अत्यन्त गलत सन्देश दिएको उनले बताए । उनले भने, ‘महामारी नियन्त्रणमा तदारुकता छैन, बाढीपहिरो पीडितको समस्यामा मतलब छैन, कसलाई हटाउने भन्ने खेलमात्र गरिरहेको छ । यो सरकार यहाँ भन्दा नांगिने ठाउँ के छ र १ महामारीविरुद्धको भ्याक्सिनमा समन्वयन गरिरहेका राजदूतहरुलाई एकैचोटि फिर्ता बोलाउँदा गलत सन्देश गएको छ । गैर जिम्मेवार सरकारसँग यो भन्दा बढी के अपेक्षा गर्ने ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *