गिनिज वर्ल्ड रेकर्डसद्वारा जापानी दिदीबहिनीलाई विश्वकै ज्येष्ठ जुम्ल्याहाको प्रमाणपत्र

दुई जापानी दिदीबहिनीलाई गिनिज वर्ल्ड रेकर्ड्सले विश्वकै सबैभन्दा ज्येष्ठ जीवित जुम्ल्याहाका रूपमा प्रमाणपत्र प्रदान गरेको छ । उनीहरू १ सेप्टेम्बरका दिन १०७ वर्ष ३०० दिनका हुँदा त्यस्तो प्रमाणित गरिएको हो ।

उमेनो सुमियामा र कोउमी कोदामले यसअघि जापानकै अर्का जुम्ल्याहा दिदीबहिनीको नाममा रहेको कीर्तिमान तोडेका हुन् । सन् १९१३ को नोभेम्बर ५ का दिन सोदोसिमा टापुमा जन्मिएका उमेनो र कोउमी निकै मिलनसार व्यक्तिका रूपमा परिचित छन् ।

यो घोषणा सोमबार ज्येष्ठ नागरिकहरूप्रति सम्मान व्यक्त गर्ने दिनको अवसर पारेर गरिएको हो । त्यस दिन जापानमा राष्ट्रिय बिदा दिइन्छ । कोभिड महामारीका कारण जापानका फरकफरक ठाउँमा रहेका उनीहरूलाई भिन्दाभिन्दै प्रमाणपत्र पठाइएको थियो ।

यसअघिका किन र जीन १०७ वर्ष १७५ दिनको कीर्तिमान कायम गरेका थिए । किनको मृत्यु सन् २००० को जनवरीमा भएको थियो भने त्यसको एक वर्षपछि १०८ वर्षको उमेरमा जीनको मृत्यु भएको थियो ।

ती जुम्ल्याहाको नामको अर्थ जापानी भाषामा सुन र चाँदी भन्ने हुन्छ । सन् १८९२ को अगस्ट १ मा जन्मिएका उनीहरूको आफ्नो जीवनको अन्तिम दशकमा सञ्चारमाध्यमहरूमा निकै चर्चित बनेका थिए । उमेनो र कोउमीका परिवारका अनुसार उनीहरू दुवै यति लामो उमेर पुगेको विषयमा ठट्टा गरेका थिए । उमेनोका चार र कोउमीका तीन सन्तान छन् ।

जापानको औसत आयु संसारकै उच्च मानिन्छ र त्यहाँ ज्येष्ठ नागरिकहरूप्रति अन्यत्रभन्दा धेरै सम्मान गर्ने गरेको पाइन्छ । गिनिज बुकका अनुसार अहिले जीवित रहेका ज्येष्ठ नागरिक समेत जापानकै ११८ वर्षीय महिला कानी तानका छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *