सभामुख सापकोटामाथि पूर्वाग्रह साँधेर संसद्मा एमालेको उफ्रीपाफ्रीः शर्मा

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नेता दीनानाथ शर्मा एमालेले सभामुख अग्निप्रसाद सापकोटामाथि पूर्वाग्रह साँधेर संसद्मा उफ्रीपाफ्री गरिरहेको आरोप लगाएका छन् । आफ्नो पार्टी विभाजनमा अरुलाई दोष लगाउनुको औचित्य नभएको उनले बताए ।

नेता शर्माले भने, ‘कुनै पनि कुराको विकास र विनाश आन्तरिक कारणबाटै हुन्छ । एमाले पनि आन्तरिक कारणबाट फुटेको हो । न सभामुखले फुटाउनुभएको हो, न त प्रचण्डले । अर्कालाई दोष लगाउनुको कुनै अर्थ छैन । जब जरा कुहिन्छन्, अनि रुख ढल्छ । सभामुखले एमालेको कार्यकर्ताको हैसियतले काम गर्ने होइन । आफ्नो भूमिका निष्पक्षताका साथ निर्वाह गर्नुभएको छ । एमालेले सभामुख अग्निप्रसाद सापकोटामाथि पूर्वाग्रह साँधेर संसद्मा उफ्रीपाफ्री गर्नुको अर्थ छैन ।’

मुलुक अन्योल, अनिश्चितता र विभाजनको राजनीतिक संक्रमणकालीन अवस्थामा भएकाले मन्त्रिपरिषद् विस्तार लगायत काम सम्पन्न हुन नसकेको उनले बताए । उनले पार्टीलाई बलियो बनाउनुपर्छ भन्ने स्पिरिटमा प्रचण्डले पार्टी विघटन गरे हुन्छ भनेको पनि दाबी गरे । उनले भने, ‘माओवादी केन्द्र २०५२ देखि अहिलेसम्म राजनीतिको मियो बनेको छ । हाम्रो पार्टी परिवर्तनको बाहक शक्ति थियो र छ ।

यसले देशलाई नै अगुवाइ गरेर अघि बढाउन सक्छ । संगठन जस्तो भए पनि पुष्पलालको वैचारिक धरातलले वामपन्थी आन्दोलनलाई नेतृत्व गरेको छ । त्यो स्पिरिट बीपी कोइरालामा थियो, गणेशमान सिंह आदि नेताहरुमा पनि थियो । अरु पार्टीको संगत गर्दा लागेका धुलोमैलो, फोहार सफा गर्नुपर्छ र पार्टीलाई व्यवस्थित, सुदृढ नगर्ने हो भने कमजोर हुन्छौं भन्ने सन्दर्भमा उहाँको त्यस्तो अभिव्यक्ति आएको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *