देउवालाई सर्वसम्मत सभापति बनाउनुपर्छ, महामन्त्रीको उम्मेदवार बालकृष्ण खाँड होः महेन्द्र यादव

काठमाडौं । नेपाली कांग्रेसका नेता महेन्द्र यादवले शेरबहादुर देउवालाई पार्टी सभापतिमा सर्वसम्मत गर्नुको विकल्प नभएको बताएका छन् । देउवा पक्षबाट महामन्त्रीको एउटा उम्मेदवार गृहमन्त्री बालकृष्ण खाँड भएको ठोकुवा पनि उनले गरे ।

नेता यादवले भने, ‘नेपाली कांग्रेस भनेको समुद्र हो । यस्तो लोकतान्त्रिक पार्टी न अमेरिकामा छ, न भारतमा । महाधिवेशन भरखर सुरु भयो । को को उम्मेदवार हुन्छन्, को को हुँदैनन्, अहिले नै भन्न सकिँदैन । सबैलाई निर्वाचन लड्ने अधिकार छ । तर म हिजो पनि शेरबहादुर देउवाको हुँ, आज पनि हुँ, भोलि पनि हुनेछु ।’

नेता यादवले देउवालाई कांग्रेसले मात्र नभई सबै दल र देशले मानेको हुँदा यसपालि सर्वसम्मत गराउने पहल गर्नुपर्ने पनि बताए । उनले थपे, ‘शेरबहादुर देउवालाई हामीले मात्र होइन, सबै दलले मानेका छन् । आफ्नो पार्टीको सभापतिलाई देशकै नेता मानेको अवस्थामा नेपाली कांग्रेसका साथीहरु खुसी छौं । त्यसैले हामी एकढिक्का भएर देउवाको नेतृत्वमा अघि बढ्न चाहन्छौं । उहाँलाई सर्वसम्मत सभापति बनाएर पार्टीलाई बहुमत दिलाएर एकमना सरकार बनाउनुपर्छ ।’

देउवा पक्षबाट महामन्त्रीको उम्मेदवार गृहमन्त्री बालकृष्ण खाँड हुने उनले बताए । उनले भने, ‘हाम्रो पक्षबाट विधिवत् निर्णय त भइसकेको छैन । तर बालकृष्ण खाँड महामन्त्रीको उम्मेदवार हुनुपर्छ भन्ने धेरै युवाहरुको चाहना छ । उहाँले नेविसंघ र तरुण दलको सफल नेतृत्व गर्नुभयो । दुइटा महामन्त्रीमध्ये एउटा उहाँले नपाउने कुरा छैन । समय आएपछि हाम्रो टिम घोषणा हुन्छ ।’

धनुषामा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवको पुत्र डा चन्द्रमोहन यादवको राजनीति समाप्त पार्न किन लाग्नुभयो भन्ने प्रश्नमा उनले भने, ‘चन्द्रमोहनजी र म एउटै गाउँका हौं । हामी दाजुभाइजस्ता छौं । गत निर्वाचनमा उहाँ प्रदेशमा लड्नुभयो, म संघमा लडें । कांग्रेसजस्तो प्रजातान्त्रिक पार्टीमा उहाँलाई माइनस गर्ने कुरै छैन । केही मिस अन्डरस्ट्यान्डिङ थियो, अब समाधान मिलिसक्यो । अब हामी सँगै मिलेर जान्छौं ।’

धनुषालगायत ७७ जिल्लामा क्रियाशील सदस्यता विवाद समाधान भएको दाबी पनि उनले गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *