संखुवासभा सामूहिक हत्याकाण्डः प्रमुख योजनाकार नै अर्कै

धनकुटा । गत २१ भदौमा संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित ५७ वर्षीय तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या अभियोगमा प्रहरीले उनीहरूकै आफन्त २६ वर्षीय लोकबहादुर कार्कीलाई उभ्याएको थियो ।

हत्या भएको पाँचांै दिन पक्राउ परेका हत्यारा भनिएका लोकबहादुर नातामा तेजबहादुरकै भतिजा थिए । उनी एक्लैले ६÷६ जनाको हत्या गरेको प्रहरीले सार्वजनिक गरेको थियो ।

तर, अहिले सो घटनामा उनी मात्र नभई थप चार जनाको संलग्नता रहेको दाबी प्रहरीले गरेको छ । सोमबार पत्रकार सम्मेलन गरी प्रहरीले अन्य अभियुक्तसमेतलाई सार्वजनिक गरेको छ । प्रहरीले ६÷६ जनाको नृशंस हत्याका मुख्य योजनाकार लोकबहादुर नभई अर्कै व्यक्ति भएको र अघिल्लो दिन भएको योजना मुताबिक हत्या भएको खुलासा पनि गरेको छ ।

साथै, हत्या गर्नुको अर्को कारण उनको घरमा भएको नगद र अन्य सम्पत्ति भएको पनि बयान दिएका छन् । यद्यपि, हत्यापछि तेजबहादुरको घरको सम्पत्ति भने लुटिएको थिएन ।

संखुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीका अनुसार घटनाको मुख्य योजनाकार लोकबहादुरका काका खड्गबहादुर कार्की हुन् । ४७ वर्षीय खड्गबहादुरसहित उनका २८ वर्षीय छोरा हस्तबहादुर, लोकबहादुरका बाबु ४९ वर्षीय रणबहादुर र लोकबहादुरका भाइ १७ वर्षीय नरेश कार्कीलाई प्रहरीले सोमबार हत्या अभियुक्त भनेर सार्वजनिक गरेको हो ।

ती सबै जनाले तेजबहादुरको हत्या गर्नुपर्ने मुख्य कारण नै उनको हेपाहा प्रवृत्ति भएको बयान दिएका छन् ।

प्रहरीका अनुसार घटनाका मुख्य अभियुक्त खड्गबहादुरलाई तेजबहादुरले जड्याहा भनेर गाली गर्थे । उनीहरूबीच बेलाबेलामा झगडासमेत पर्ने गरेको थियो । त्यसो त खड्गबहादुर नियमित रूपमा मदिरा सेवन गर्थे ।

उनी मदिरा पिएको बेला घरमा श्रीमती र परिवारका सदस्यहरूलाई कुटपिट र गालीगलौजसमेत गर्थे । उनको यो व्यवहार देखेर तेजबहादुर सम्झाउँथे । ‘तँ जँड्याहा किन यसो गर्छस्’ भनी गाली पनि गर्थे । जवाफमा खड्गबहादुर भने तेजबहादुरलाई ‘तँलाई के मतलब तलाई मार्छु’ भन्दै झगडा गर्ने गर्थे ।

लोकबहादुरलाई भने तेजबहादुरले ‘तँ पागल, अल्छी, केही काम गर्न सक्दैनस्’ भन्ने गर्थे । लोकबहादुरका भाइ नरेशलाई उनी ‘तँ डुँडे काम नलाग्ने भइस्’ भन्ने गर्थे । यस्तै, लोकबहादुरका बाबु रणबहादुरलाई ‘तँ लठेब्रो केही गर्ने सक्दैनस्’ भन्ने गर्थे ।

तेजबहादुरको यो भनाइ उनीहरू सबैको मनमा गढेको थियो । आफूहरूलाई होच्याएर बोल्ने, हेप्ने गरेकोमा उनीहरू भित्रभित्रै मुर्मुरिएका थिए । त्यसैले उनीहरू सबैको मनमा हेपाइको बदला लिने सोच पलाएको थियो । अर्को कुरा, अन्यको तुलनामा तेजबहादुरको आर्थिक स्थिति धेरै राम्रो थियो ।

गाउँमा रामै्र खान पुग्ने जग्गा जमिन थियो । झापामा ८० लाख रुपैयाँभन्दा बढीमा जग्गा किन्ने तयारी गरिरहेका थिए । दुवै छोरा वैदेशिक रोजगारीमा थिए । यसले उनमा घमण्डको मात चढेको अन्यको बुझाइ थियो । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *