एमालेले संसद्लाई बन्धक बनायो, देश र जनताको बेवास्ता गर्योः भुसाल

काठमाडौं। नेपाली कांग्रेसकी नेतृ एवं सचेतक पुष्पा भुसालले देश र जनताभन्दा दलीय स्वार्थमा चुर्लुम्म डुबेर एमालेले संसद्लाई बन्धक बनाएको आरोप लगाएकी छन् । कोभिडको भ्याक्सिनलगायत स्वास्थ्य सामग्री खरिद, सामाजिक सुरक्षा भत्ता रोकेर अर्थतन्त्रलाई समाप्त पार्न एमालेले गैरजिम्मेवार भूमिका खेलेको उनले बताइन् ।

नेतृ भुसालले भनिन्, ‘परिणाम नै नआउने माग राखेर एमाले गैरजिम्मेवार भएको देखियो । सभामुखले बोलाएको सर्वदलीय छलफलमा पनि आएन । भ्याक्सिन खरिद, सामाजिक सुरक्षा भत्ता रोकेर मुलुकको अर्थतन्त्रमा खेलबाड गरेको छ । उसका अभिव्यक्ति र आचरण हेर्दा संसद्लाई महत्त्व नदिएको देखिन्छ । देश र जनताप्रति भन्दा दलीय स्वार्थलाई महत्त्व दिएको छ । संसद् भनेको आम जनताले जानकारी पाउने थलो हो । यसमा अत्यन्त जिम्मेवार र गम्भीर भएर सोच्नुपर्छ ।’

अदालतमा विचाराधीन विषयमा अदालतलाई प्रभावित बनाएको, सम्मानित सभामुखको अधिकारमाथि नियन्त्रण गर्ने एमालेको गलत रवैयाले जनतालाई निराश पारेको उनले बताइन् । उनले थपिन्, ‘आज संसद्मा प्रतिपक्षी दल सुधारिएर आउने आशा छ । देश र जनताप्रति जिम्मेवार भए आएर आउने विश्वास छ ।’

सरकार विस्तारमा अब विलम्ब नहुने उनले बताइन् । उनले भनिन्, ‘प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनलाई विश्वासमा लिएर अघि बढिरहनुभएको छ । उहाँकै नेतृत्वमा तीन तहको निर्वाचन भएको, संसद् र संविधान बँचाउनका लागि लागिपरेको पनि हामीले विर्सनुभएन । उहाँले निरन्तर रुपमा दलीय स्वार्थभन्दा पनि जनताका विषयवस्तुलाई ध्यान दिनुभएको छ । पार्टीलाई थप ऊर्जा दिन समयमै महाधिवेशन गराउन केन्द्रित हुनुभएको छ । हामीले यसलाई पनि नजरअन्दाज गर्नु भएन ।’

पदक वितरणमा राष्ट्रलाई योगदान गरेका सबैलाई समेट्नुपर्ने र कोही छुटेको भए त्यसलाई सुधारेर जानुपर्नेमा नेतृ भुसालले जोड दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *