पीएसजीको लगातार छैटौं जित

एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन(पीएसजी)ले लगातार छैटौं जित निकालेको छ । गएराति भएको खेलमा लियोनलाई २-१ गोलले हराउँदै पीएसजीले आफ्नो विजयी यात्रालाई निरन्तरता दिएको हो ।

पीएसजीलाई जित दिलाउन नेयमार र माउरो इकार्डीले समान एक/एक गोल गरे । लियोनको लागि लुकाद पाक्विएटाले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको सबै गोल दोस्रो हाफमा भएको हो । पाहुना टोली लियोनले खेलमा शुरुवाती अग्रता लिएपनि जोगाउन नसक्दा पराजित हुन पुग्यो । खेलको ५४ औं मिनेटमा एकाम्बीको पासमा पाक्विएटाले गोल गर्दै लियोनलाई खेलमा अगाडि बढाएका थिए ।

६६ औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई बराबरीमा ल्याए । विपक्षी डिफेन्डर गुस्टोले नेयमारलाई पेनाल्टी क्षेत्रमा फावल गरेपछि पीएसजीले पेनाल्टी पाएको थियो । बराबरीतिर लम्किएको खेलको अतिरिक्त समयको तेस्रो मिनेटमा एम्बाप्पेको क्रसमा इकार्डीले गोल गर्दै पीएसजीलाई २-१ गोलको जित दिलाए ।

जितसँगै पीएसजी ६ खेलबाट १८ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा यथावत छ । पराजित लियोन ६ खेलबाट ८ अङ्क जोड्दै नवौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *