गठबन्धनको अलमलका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइः नेता सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मन्त्रिपरिषद्ले चाँडो पूर्णता पाउने बताएका छन् । स्व गणेशमान सिंहको २५औँ स्मृति दिवसका अवसरमा गणेशमान सिंह फाउण्डेशनले शोभा भगवतीमा शनिबार आयोजित कार्यक्रममा नेता सिंहले सत्ता गठबन्धनको आन्तरिक व्यवस्थापनको अलमलका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै अब चाँडो मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका हुन् ।

उनले भने, “झण्डै दुई तिहाइ बहुमत पाएको कम्युनिष्ट सरकारले संविधानको मर्म र भावनाविपरीत काम गर्न नसकेपछि काँग्रेस नेतृत्वमा सरकार निर्माण भएको हो, सबैलाई मिलाएर लैजाँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।”

काँग्रेस नेतृत्वको सरकारले जनताको भावनाअनुसार काम गर्नेमा विश्वास रहेको उनको भनाइ छ । नेता सिंहले पार्टीको १४औँ महाधिवेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने बताए ।

उनले पार्टीभित्र विवाद र अलोकतान्त्रिक गतिविधि बढिरहेको उल्लेख गर्दै विवाद भएका जिल्लामा विधानअनुसार समस्या समाधान गर्नुपर्ने बताए । “विधिअनुसार पार्टी नचल्दा विवाद र अलोकतान्त्रिक गतिविधि बढिरहेको छ, १४औँ महाधिवेशनलाई निष्पक्ष तवरले सम्पन्न गर्नुपर्छ”, उनले भने । उनले संस्थापन इतर समूहबाट साझा उम्मेदवार बनाउने विषयमा निरन्तर छलफल र परामर्श भइरहेको उल्लेख गरे ।

सिंहले नेपाली प्रजातान्त्रिक आन्दोलनमा र काँग्रेसलाई बलियो बनाउन स्व गणेशमान सिंहको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि गणेशमान सिंहले नेपाली जनाताको सेवा गर्न नछोडेको बताए ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, किरण गिरी, पूर्वमन्त्री एवं सांसद राजेन्द्रकुमार केसी, काँग्रेस काठमाडौँका सभापति सबुज बानियाँलगायतको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *