दोस्रो जितको खोजीमा नेपाल

काठमाडौं । ओमानमा जारि विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आज नेपाल र अमेरिका भिड्दैछन् । ओमानको अल अमेराट क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे शुरु हुनेछ । खेलको प्रत्यक्ष प्रशारण डिसहोमको एक्सन स्पोर्ट्सले गर्नेछ ।

सिरिजको पहिलो खेलमा जित हात पारेपनि दोस्रो खेलमा फितलो प्रदर्शन गर्दै पराजित भएको नेपाल आजको खेलमा दोस्रो जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछ । नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा घरेलु टोली ओमानसँग ५ विकेटले नै पराजित भएको थियो । यता अमेरिकाले भने सिरिजको पहिलो दुवै खेलमा हार बेहोरेको थियो । त्यसैले अमेरिका आजको खेलमा पहिलो जितको खोजीमा रहनेछ ।

यसअघि घरेलु मैदानमा भएको नेपाल, ओमान र अमेरिका सम्मीलित सिरिजमापनि नेपालले अमेरिकालाई दुवै खेलमा पराजित गरेको थियो । अमेरिकाविरुद्धको पछिल्लो तीनै खेलमा अपराजित नेपाल आजको खेलमापनि सोहि लयलाई निरन्तरता दिन चाहन्छ । हाल नेपाल ६ खेलबाट ६ अंक जोड्दै लिग २ को अंकतालिकाको छैटौं स्थानमा रहेको छ । अमेरिका १४ खेलबाट १२ अंक जोड्दै दोस्रो स्थानमा छ भने ओमान १२ खेलबाट २० अंक जोड्दै तालिकाको शिर्ष स्थानमा रहेको छ ।

लिग २ मा नेपालसहित ओमन, अमेरिका, स्कटल्यान्ड, युएई, नामिबिया र पपुवा न्युगिनीले प्रतिस्पर्धा गरिरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *