बाग्मती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको संस्थागत दाबी छ, हामी पछि हट्दैनौंः इन्द्र बानियाँ

काठमाडौं । बाग्मती प्रदेशका कांग्रेसको संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीको संस्थागत दाबी भएको बताएका छन् । विपक्षी दलको नेताका हिसाबले बाग्मती प्रदेशमा आफ्नो नेतृत्वमा सरकार बनाउने चाहना राख्नु स्वाभाविक भएको उनको भनाइ छ ।

नेता बानियाँले भने, ‘अहिले अष्टलक्ष्मी शाक्यको सरकार अल्पमतमा परेको छ, उहाँले राजीनामा दिएर या विश्वासको मत लिएर मार्गप्रशस्त गर्नुपर्ने हो । अब गठबन्धनको नेतृत्वमा सरकार बन्छ । तर कसको नेतृत्वमा बनाउने भन्ने टुंगिएको छैन । तर मेरो व्यक्तिगत चाहना मात्र होइन, मेरो पार्टी नेपाली कांग्रेसको चाहना पनि दलको नेतालाई मुख्यमन्त्री बनाउने भन्ने छ । मुख्यमन्त्रीमा संस्थागत रुपमै कांग्रेसको दाबी छ ।’

नेता बानियाँले सत्ता गठबन्धनले निर्णय नगर्दासम्म सबैको दाबी स्वाभाविक भएको पनि बताए । उनले भने, ‘हामीले बाग्मती प्रदेशमा आफ्नो नेतृत्वमा सरकार बनाउने चाहना स्वाभाविक हो, गठबन्धनका अरु दलले आफ्नो सरकार बनाउने अभिव्यक्ति दिनु पनि स्वाभाविकै हो । सुरुको नेतृत्व हामीलाई दिनुपर्छ भन्ने कुरा चलिरहेको छ । अन्तिम टुंगो लागेको छैन ।’

उनले राजनीति सम्भावनाको खेल भएकाले राजेन्द्र पाण्डे या आफ्नो जसको नेतृत्वमा पनि सरकार बन्न सक्ने बताए । उनले भने, ‘उहाँको पनि दाबी छ, मेरो पनि दाबी छ । केन्द्रीय गठबन्धनमा सरकार बनाउन साथ दिएका कारण उहाँहरुको दाबी पनि स्वभाविक हो । अब कसको नाममा सहमतिमा बन्छ, म ठ्याक्कै बताउन सक्दिनँ । तर मैले दाबी छाड्ने कुरा छैन । अन्तिमसम्म दाबी रहन्छ । गठबन्धन संस्कृति अनुसार म हुँदा राजेन्द्र पाण्डेले मान्नुपर्यो, राजेन्द्र पाण्डे हुँदा मैले मान्नुपर्यो । कि गठबन्धन नै भत्काउनुपर्यो । सरकारको नेतृत्व कसले गर्ने भन्ने कुरा नेतृत्वले टुंग्याउनुपर्छ ।’

उनले केन्द्रीय गठबन्धन समस्यामा परेको पनि स्वीकारे । उनले भने, ‘लामो समयदेखि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । अध्यादेश फिर्ता लिने या प्रक्रियामा लगेर टुंग्याउने कुराले समस्या आइसकेको छ । तर यो अप्ठ्यारो परिस्थितिमा संसद्, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि निर्माण भएको सरकार हो । केही प्रक्रियागत र कानुनी रुपमा जटिलता छन् । त्यसलाई समाधान गर्दै अघि बढ्नुपर्छ ।’

नेता बानियाँले एमसीसीका बारेमा प्रपोगान्डा भइरहेको बताए । उनले भने, ‘संसद्मा टेबल नभईकन यसबारे भ्रम सिर्जना गरिएको छ । खास बहस गर्ने थलो संसद् हो । संशोधन गर्नुपर्ने हो भने पनि त्यहीँ छलफल गर्नुपर्यो । अनधिकृत चर्चा परिचर्चा गरेर उछाल्नुको कुनै अर्थ छैन ।’

नेपाली कांग्रेसको डडेलधुराको वडा अधिवेश विवाद पनि राजनीतिक प्रपोगान्डा मात्र भएको उनको दाबी छ । उनले भने, ‘क्रियाशील सदस्यता छानबिन समिति सर्वसम्मत रुपमा बनेको हो । यसमा रामचन्द्र पौडेल समूहको पनि प्रतिनिधित्व छ । निर्वाचन समिति पनि त्यसरी नै सर्वसम्मत रुपमा बनेको हो । निर्वाचन समितिले प्रतिनिधि खटाएको छ । उसले त्रुटि देखेमा वा उजुरी परेमा फेरि वडा अधिवेशन गर्ने हो । स्वाभाविक रुपमा प्रतिनिधि छनोट गरिसकेको विषयमा विवाद गर्न मिल्दैन ।’ उनले कांग्रेसको महाधिवेशन अब नरोकिने पनि बताए ।

नेता बानियाँले आवश्यकताको सिद्धान्त अनुसार मुलुकको राजनीतिक निकासका लागि अर्ली चुनावु हुन सक्ने पनि औंल्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *