कांग्रेस महाधिवेशन प्रक्रिया भोलिबाट

काठमाडौ । नेपाली कांग्रेसको १४औं महाधिवेशन प्रक्रिया भोलि शुक्रबारबाट सुरु हुँदै छ । कांग्रेस विधानअनुसार सबैभन्दा तल्लो तहको अधिवेशनअन्तर्गत भोलिबाट वडा अधिवेशन सुरु हुने भएको हो ।

तर, सबै जिल्लाका क्रियाशील सदस्यता एकैपटक सार्वजनिक नहुँदा वडा अधिवेशनका लागि तोकिएको मिति भने जिल्लाअनुसार नै फरकफरक हुने भएको छ । अर्थात्, १८ बाट २३ भदौसम्म ७७ वटै जिल्लामा कांग्रेसले वडा अधिवेशन सम्पन्न गर्ने छ । कांग्रेसले हालसम्म ५६ जिल्लाको क्रियाशील सदस्यता नामावली पार्टीको वेबसाइटमा सार्वजनिक गरेको छ ।

सोहीअनुसार निर्वाचन अधिकृत तोकिएका जिल्लामा अधिवेशन शुक्रबारबाट सुरु हुने भएको हो । यसअघि, केन्द्रीय समिति बैठकले तोकेको कार्यतालिकाअनुसार भने १८ भदौमा नै वडा अधिवेशन हुने उल्लेख छ । यद्यपि, केही जिल्लाका सदस्यता सार्वजनिक गर्न बाँकी र केन्द्रीय निर्वाचन अधिकृत तोक्न बाँकी रहेकाले अधिवेशनको मिति पनि एक दुई दिन हेरफेर हुने भएको हो ।

जिल्लामा हुने निर्वाचन मिति भने प्रमुख निर्वाचन अधिकृत र जिल्ला नेतृत्वले सहमतिमा तोक्नेगरी कांग्रेस केन्द्रले अधिकार प्रत्यायोजन गरेको छ । कांग्रेस नेता मीन विश्वकर्माले १८ बाट सुरु गरेर २३ भदौसम्मममा वडा अधिवेशन सक्न र २७ भदौबाट शुरु हुने पालिका तहका अधिवेशन ढिलामा २९ गतेसम्म सक्न निर्देशन भएको जानकारी दिए ।

कांग्रेसले २१ जिल्लाको क्रियाशील सदस्यता नामावली भने केही प्राविधिक विषय मिलाउनुपर्ने भएकाले सार्वजनिक गरिसकेको छैन । कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले आगामी १८ भदौअघि नै बाँकी जिल्लाको क्रियाशील सदस्यता नामावली सार्वजनिक गरिने जानकारी दिएका छन् । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *