USAID

फातीले लाउने भए बार्सिलोनाबाट मेस्सीको जर्सी नम्बर १०

एजेन्सी । युवा फरवार्ड अन्सु फातीले बार्सिलोनाबाट लियोनल मेस्सीको प्रतिष्ठित जर्सी नम्बर १० लगाउने भएका छन् । क्लबले बुधबार फातीले जर्सी नम्बर १० लगाउने जनाएको हो ।

अर्जेन्टिनी सुपरस्टार खेलाडी मेस्सी अगस्टमा २१ वर्षपछि स्पेनिस क्लब बार्सिलोना छोड्दै पेरिस सेन्ट जर्मन(पीएसजी)सँग आबद्ध भएका थिए । बार्सिलोनासँग नयाँ सम्झौता हुन नसकेपछि मेस्सी फ्रि-एजेन्टको रुपमा पीएसजी पुगेका थिए । ६ पटकको बेलोन डी’ओर विजेता मेस्सीले सन् २००८ मा रोनाल्डिन्होले क्लब छोडेदेखि जर्सी नम्बर १० लगाउदै आएका थिए । यसअघि रिभाल्डो रोमारियोले पनि बार्सिलोनाबाट १० नम्बरको जर्सी लगाएका थिए ।

मेस्सीको सम्मानमा क्लबले जर्सी नम्बर १० लाई खाली राख्ने धेरैले अनुमान गरेका थिए । तर क्लबले बुधबार ला मासियाबाट बढुवा भएका फातीमा उक्त नम्बर दिने निर्णय गरेको हो । फाती विगत ९ वर्ष देखि बार्सिलोनासँग रहेका छन् । उनले पछिल्लो दुई सिजन त बार्सिलोनाको पहिलो टिममा बिताए ।

फाती क्लबको इतिहासमा सबैभन्दा सानो उमेरमा गोल गर्ने खेलाडीपनि बनेका थिए । उनले अगस्ट २०२९ मा ओसासुनाविरुद्ध १६ वर्ष ३ सय ४ दिनको उमेरमा गोल गरेका थिए । हालसम्म बार्सिलोनाबाट ४२ खेल खेलेका उनले १२ गोल गरिसकेका छन् । उनले स्पेनबाट ४ खेलपनि खेलिसकेका छन् । फातीले सेप्टेम्बर २०२० मा युक्रेनविरुद्ध राष्ट्रिय टोलीबाट पहिलो गोल गरेका थिए ।

चोट बोकेपछि नोभेम्बर २०२० देखि मैदान बाहिर रहेका फाती हाल भने प्रशिक्षणमा फर्किएका छन् । उनी अन्तराष्ट्रिय ब्रेकपछि मैदानमा उत्रिने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *