प्रज्जवल थापा । फिफा विश्वकप-२०२२ छनोट अन्तर्गत आज हुने खेलमा पोर्चुगलले आयरल्याण्डको सामना गर्दैछ । आजको खेलमा जित निकालेको खण्डमा पोर्चुगलको विश्वकप छनोट हुने सम्भावना त मजवुत हुनेनैछ । त्यससँगै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले आजको खेलमा गोल गरेको खण्डमा उनी अन्तराष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडी बन्नेछन् ।
त्यसैलेपनि आजको खेलमा धेरैको नजर रोनाल्डोमा हुनेछ । रोनाल्डोको लागि रेकर्ड तोड्नु त दिनचर्या जस्तै बन्ने गरेको छ । उनले हरेक खेलमा सानाठुला कीर्तिमान त बनाएकै हुन्छन् । आजको खेलमापनि रोनाल्डोलाई एतिहासिक कीर्तिमान बनाउने अवसर रहेको छ । अन्तराष्ट्रिय गोलको सुचीमा हेर्ने हो भने हाल खेलिरहेका कुनैपनि खेलाडी रोनाल्डोको आसपासमै छैनन् ।
मंगलबारमात्र युभेन्टस छोड्दै पूर्व क्लब म्यानचेस्टर युनाइटेड फर्किएका ३६ वर्षीय रोनाल्डो र इरानको अली दाइको नाममा समान १ सय ९ गोल रहेको छ । सन् २००६ मा अन्तराष्ट्रिय खेलबाट सन्यास लिएका दाइले १ सय ४९ अन्तराष्ट्रिय खेल खेलेका थिए । रोनाल्डोले युरोकप-२०२० अन्तर्गत फ्रान्सविरुद्ध भएको समूहचरणको खेलमा दुई गोल गर्दै दाइको गोलसँग बराबरी गरेका थिए । रोनाल्डो प्रतियोगिताको उक्त सावार्धिक गोलकर्तापनि चुनिएका थिए । हालसम्म रोनाल्डोले पोर्चुगलबाट रोनाल्डोले १ सय ७९ खेल खेलेका छन् । उनले २००३ मा १८ वर्षको उमेरमै राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए ।
पोर्चुगलले विश्वकप छनोट अन्तर्गत आज हुने खेलमा आयरल्याण्डको सामना गर्नेछ भने सेप्टेम्बर ४ मा हुने मैत्रीपूर्ण खेलमा कतारसँग खेल्नेछ । यस्तै पोर्चुगलले सेप्टेम्बर ७ मा हुने विश्वकप छनोटको खेलमा अजरबैजानसँग भिड्नेछ । हिजो भएको प्रेस कन्फरेन्समा पोर्चुगलका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसले रोनाल्डोले तीन वटै खेल खेल्ने बताएका थिए । त्यसैले रोनाल्डोलाई आफ्नो गोल संङ्ख्या बढाउने राम्रो अवसर रहेको छ ।
सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सी नवौं स्थानमा(सक्रियमा तेस्रो स्थान) रहेका छन् । उनले अर्जेन्टिनाबाट १ सय ५१ खेल खेल्दै ७६ गोल गरेका छन् । उनले जुलाईमा अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
अन्तराष्ट्रिय खेलमा सार्वाधिक गोल गर्ने सक्रिय खेलाडीको सुची
क्र.स |
खेलाडीको नाम | देश | गोल संङ्ख्या |
१. |
क्रिस्टियानो रोनाल्डो | पोर्चुगल | १०९ |
२. |
अली माब्खोउट |
युएई | ७६ |
३. |
लियोनल मेस्सी | अर्जेन्टिना |
७६ |
४. | सुनिल क्षेत्री | भारत |
७४ |
५. | रोबर्ट लेवान्डोस्की | पोल्याण्ड |
६९ |