केपी ओलीलाई मात्र दोष दिएर कसैले छुट पाउँदैनः उपाध्यक्ष ज्ञवाली

कर्णाली । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले केपी ओलीलाई दोष दिएरमात्र कसैले छुट नपाउने बताएका छन् । मंगलबार सुर्खेतमा एमालेको कर्णाली प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष ज्ञवालीले पार्टीका कार्यकर्तालाई आवेग, उत्तेजना फैलाएर बोल्ने र त्यस्तो व्यवहार गर्ने काम बन्द गर्न आग्रह गरेका हुन् ।

उनले नेता कार्यकर्तालाई संयम र धैर्यका साथ अभिव्यक्ति दिन आग्रह गरे । उनले घृणाको संस्कृति फैलाएर कसैलाई गाली गलौज गरेको जनताले मन नपराउने बताए । विकास निर्माणको काम कसले कसरी गर्छ भन्ने हेरेर नै जनताले आउने चुनावमा फैसला गर्ने उने बताए ।

उनले भने, ‘एमालेलाई मात्र, केपी ओलीलाई मात्र दोष दिएर तपाईहरुले छुट पाउनुहुन्न । काम गर्दा कमजोरी हुन सक्छ, खराब हुन सक्छ, तर त्यसको अर्थ पार्टी नै काम लाग्दैन भन्ने अर्थ निकाल्नु र त्यो अर्थमा पार्टी नै विभाजन गर्नु धेरै दुर्भाग्यपूर्ण काम हो, यो गलत बाटो हो ।’ ज्ञवालीले पार्टी जेठ अघि फर्किएको भन्दै कार्यान्वयनको चरणमा रहेको बताए ।

उनले भने, ‘कर्णाली प्रदेशमा हिजोबाट जेठ २ मा फर्किएर कार्यान्वयन गरेका छौँ, त्यसैअनुसार अब दश जिल्लामा कार्य विभाजन अनुसार भेला छलफल तुरुन्त सुरुवात गर्न लागेका छौँ।’ पार्टीविभाजन अघि नेता माधव कुमार नेपालसँग घनिभूतरुपमा छलफल भएको बताए ।

पार्टी एकताका लागि नेता नेपालले नै प्रस्ताव अघि सारेको भएपनि अन्ततः विभाजनका पुगेको उनले बताए। उनले भने, ‘दश बुँदे कार्यान्वयन गर्ने र पार्टी एकता गर्ने माधव कमरेडले भन्नुभएको थियो । माधव समूहमा अन्तरविरोध देखा पर्यो, त्यो समूहको स्थायी कमिटीमा र माधव कमरेडमा, हामी पार्टी एकता गरेर छलफल, बहस त्यही गर्नुपर्छ, सामुहिकरुपमा कमीकमजोरी सच्याउने गर्नुपर्छ भन्न हाम्रो भनाई थियो।’

उनले माधव नेपाल सहितको एकता गर्ने प्रयास भएको र नेता नेपालले ओलीसँग मिलेर बस्न नचाहेको बताए । ज्ञवालीले माधव नेपालले नयाँ दल दर्ता गर्नुको औचित्य पुष्टि गर्न नसक्ने दावी गरे ।

उनले भने, ‘नयाँ दर्ता गरेर ठूलो गल्ती गर्नुभएको छ, उहाँले कुनै दिन विचार गर्नुहोला, यो कसरी जष्टिफाई गर्नुहुन्छ, उहाँले कसरी ठिक गरेँ भनेर, एउटै नीति, एउटै विचार धारा भएको पार्टी विभाजन गरेर यसको औचित्य पुष्टि गर्नसक्नुहुन्न।’

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *