नेपालसहित १४ सांसदको पद जोगियो

काठमाडौं। नेकपा (एमाले)बाट अलग भएर नयाँ दल दर्ता गरेका माधवकुमार नेपालसहितका १४ जना प्रतिनिधिसभा सदस्यको सांसद पद यथावत् रहने भएको छ । एमालेले १४ जना सांसदलाई कारबाहीका निम्ति सभामुख अग्निप्रसाद सापकोटासमक्ष सिफारिस गरे पनि कारबाही कार्यान्वयन नहुने भएको हो ।

निर्वाचन आयोगले ११ भदौमा नेकपा (एकीकृत समाजवादी) नामको नयाँ दल दर्ता गरेको थियो । दल दर्ताको सूचना निर्वाचन आयोगले संसद् सचिवालयलाई पठाएकाले कारबाहीका लागि सिफारिस गरिएकाविरुद्ध कुनै कदम चाल्नु नपर्ने निर्णय आइतबार सभामुखले गरेका हुन् ।

सभामुखको निर्णयसँगै नेता नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, नीरादेवी जैरु, पुष्पाकुमारी कर्ण कायस्थ, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरीको सांसद पद जोगिएको छ ।

गत १ भदौमा एमालेले आफ्ना १४ जना सांसदलाई कारबाही गरेको पत्र संसद् सचिवालयमा दर्ता गराएको थियो । २७ वैशाख २०७८ मा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने क्रममा संसद् बैठक बहिष्कार गरेर पार्टीको ह्वीप उल्लंघन गरेकाले उनीहरूलाई पार्टी र संसद् सदस्यबाट हटाउने निर्णय गरेको थियो ।

यद्यपि, नवगठित एकीकृत समाजवादीका नेताहरूले सो निर्णयविरुद्ध असन्तुष्टि जाहेर गरेका थिए । एमालेले भने १४ सांसदलाई कारबाही गर्न सभामुख सापकोटा र निर्वाचन आयोगलाई दबाब दिँदै आएको थियो । आजको राजधानी दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *