नेकपा एमाले र जसपाका प्रतिनिधिलाई दल रोज्न भदौ २२ गतेसम्मको समय

काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित जनप्रतिनिधिहरुले भदौ २२ गतेसम्म दल रोज्ने समय पाएका छन् । आयोगको आइतबार बसेको बैठकले भदौ २२ गतेसम्म दल रोज्न दिने निर्णय गरेको हो ।

प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिले सम्बन्धित प्रदेश तथा जिल्लास्थित निर्वाचन कार्यालयमा गएर आफूले दल रोजेकोबारे जानकारी गराउन सक्ने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जसपा विभाजन भएर लोकतान्त्रिक समाजवादी गठन भएको थियो । नयाँ दल दर्ता गरी प्रमाणपत्र समेत दिइसकेपछि निर्वाचन आयोगले एमाले र जसपाबाट निर्वाचित भएका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रतिनिधिलाई भदौ २२ गतेसम्मका लागि दल रोज्ने समय दिएको हो । अध्यादेशमा प्रदेश र स्थानीय तहका जनप्रतिनिलाई २१ दिनभित्र दल रोज्न दिने व्यवस्था छ ।

अब एमालेबाट निर्वाचित भएका प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुले नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्न चाहेमा २२ गतेभित्र सनाखत गर्नुपर्छ । यस्तै जसपाबाट प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुले लोसपा प्रवेश गर्न चाहेमा पनि सनाखत गर्नुपर्नेछ ।

प्रदेशसभा सदस्यहरुले प्रदेश निर्वाचन कार्यालय र स्थानीय जनप्रतिनिधिहरुले जिल्ला निर्वाचन कार्यालयमा गएर सनाखत गर्नुपर्छ । यसका लागि सक्कल नागरिकता वा मतदाता परिचय प्रमाणपत्र, निर्वाचित भएको वा प्रदेशसभा/स्थानीय तहबाट जारी भएको परिचयपत्र वा प्रमाणपत्र लैजानुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *