USAID

गौरा पर्व किन र कसरी मनाइन्छ ?

काठमाडौं। प्रदेश नं ७ मा आजदेखि गौरा पर्व सूरु भएकोे छ । शुक्रबार पञ्चमीका दिन घर घरमा राखेका बिरुडा (क्वाँटी) आज नौला (जलाशय) मा गएर धुने गरिन्छ । घरको एक कोठामा गाईको गोबरले लिपेर तामा पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाइ टीका र अक्षताले सिङ्गारेर धुप बत्ती बालेर पञ्चअन्न गहुँ, मास, गहत, गोरस र कलौ भिजाएर राखेर भगवन महेश्वरको आह्वान गर्ने कार्यलाई बिरुडा भनिन्छ ।

विरुडा महिलाले माङ्गलिक गीतहरु गाउँदै गाउँका पँधेरो, खोला, नदीको मुहानमा बिरुडा भिजाउनाका साथै पञ्च वनस्पति (धान, साँउ, तिल, बेल र पाती) को पुत्ला बनाएर पँधेरामा राखी पूजा गर्ने र बिरुडा लिएर मङ्गल गीतसँगै घरमा ल्याएर राख्ने गर्छन् । विवाहित महिलाले गौरा पर्वमा बर्त बसी कण्ठसूत्र धारणा गर्नुपर्ने र पुरुषसरह गायत्रीजप गरी भोजन ग्रहण गर्ने प्रचलन छ । सप्तमीका दिन महिलाले दिनभरि बर्त बसेर आफ्नो परिवारको सुख, समृद्धि र चिरायूको कामना गर्दै गौरा राख्ने ठाउँमा महेश्वरको पूजा गर्ने चलनसमेत रहेको छ ।

सात गाँठो पारिएको दुर्वासहितको कण्ठसूत्र (दुवधागो) पञ्चगव्य अभिषेक गरी गौराको खुटृामा राखिन्छ । अष्टमीका दिन रङ्गीचङ्गी कपडामा सजिएका महिलाले गौरा राख्ने ठाउँमा पञ्च वनस्पतिले बनाइएको गौराको प्रतिमालाई रेशमी कपडाले सिङ्गारेर महेश्वरको प्रतिमासँगै बाहिर ल्याएर आसनमा राखी आठ अध्याय र आठ खण्ड भएको अठेबाली परम्परागत फाग, गौराको गीतिकथा गाउँदै पूजा गरेर गौरा र महेश्वरलाई शीरमा राखी नाँच्ने गर्दछन् । यसै अवसरमा देउडा र ठाडो खेल खेलेर रमाइलो गरिन्छ ।

गौराको प्रसादका रूपमा बिरुडा आफन्तलाई प्रसादका रूपमा बाँडिने र भोलिपल्ट गौरा खेल्ने खेलाउनुका साथै देउडा गीत गाएर रमाइलो गरिन्छ । गौरा पूजा गरी सकेपछि झाँकीसहित पञ्च वनस्पतिबाट बनाइएको गौराको प्रतिमालाई झाँकीसहित विसर्जन गर्ने चलन छ ।

गौरा पर्वमा नयाँ कपडा लगाउनाका साथै सेल, पुरी र चामलको पिठोबाट बनेको माणा, खीर, मालपुवा, बटुकजस्ता शाकाहारी पकवान खाने गरिन्छ । यो पर्व प्रदेश नं ७ सहित भारतको कुमाँउ र गढवाल क्षेत्रमा समेत विशेष महत्वका साथ मनाइने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *