काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको क्रियाशील सदस्यता सम्बन्धि विवाद तत्काल टुंगो लगाई पार्टीको महाधिवेशन समयमै सम्पन्न हुने गरी प्रक्रिया सुरु गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिने भएको छ ।
शुक्रबार बिहान चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल पक्षीय नेताहरुको बैठकको निर्णय अनुसार पौडेलले पार्टी सभापति देउवासँग भेट गरी पार्टीको क्रियाशील सदस्यतासम्बन्धि बाँकी विवाद तत्काल टुंगो लगाई महाधिवेशनको प्रक्रिया छिटो सुरु गर्न दबाब दिन लाग्नु भएको नेता डा. मिनेन्द्रप्रसाद रिजालले जानकारी दिएका छन् ।
बैठकमा पार्टीका जिल्ला सभापतिहरुको माग अनुसार छिटो क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरी महाधिवेशनको प्रक्रिया सुरु गर्न सभापति देउवालाई दबाब दिने निर्णय गरिएको थियो ।
रिजालले भने, बैठकमा व्यवहारिक कठिनाइहरुलाई समाधान गरेर महाविधेशन सम्पन्न गर्ने बाटोको खोजी गर्नुपर्छ भन्ने निष्कर्ष निकालिएको छ । त्यही निष्कर्षको आधारमा सभापतिजीसँग वरिष्ठ नेताले भेटेर कुराकानी गर्ने समय लिनु भएको छ । जस्तोसुकै कठिनाईका बाबजुत पनि ती समस्याहरु समाधान गरेर पार्टीको महाधिवेशन समयमै सम्पन्न हुनेछ ।’
आगामी मंसीर ९–१३ गते महाधिवेशन गर्न यही भदौ १८ गते देशभरको वडा अधिवेशन सम्पन्न गर्नुपर्ने हुन्छ । तर क्रियाशील सदस्यतामा देखिएका विवाद अझै समाधान नहुँदा यसको वैधानिकतामाथिनै प्रश्न उठ्न सक्ने भन्दै पौडेल पक्षले सभापति देउवालाई दबाब दिँदै आएको छ ।