एजेन्सी । पोर्चुगिज सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले इटालियन क्लब युभेन्टस छोड्ने निर्णय गरेका छन् । इटालियन पत्रकार फाब्रिजियो रोमानोको अनुसार रोनाल्डोले क्लबलाई आफुले युभेन्टस छाड्न चाहेको कुरा बताएको जनाएका छन् ।
पाभेल नेडभेड र मुख्य प्रशिक्षक एलेग्रीले रोनाल्डोलाई क्लबमा बस्न आग्रह गरेपनि पछिल्लो केही दिन देखि उनले आफ्नो मनसाय परिवर्तन गरेका हुन् । गत आइतबार भएको सिरि एको पहिलो खेलमापनि रोनाल्डोले बेन्चबाट शुरुवात गरेका थिए । सन् २०१८ मा स्पेनिस क्लब रियल म्याड्रिड छोड्दै युभेन्टस पुगेका रोनाल्डोको सम्झौतामा अझै एक वर्ष बाँकी रहेको छ ।
बिहीबार दिउँसोमात्र पोर्चुगिज पत्रकार गोन्कालो लोपेजले रोनाल्डो इङ्लिस क्लब म्यानचेस्टर सिटी जाने पक्का भएको बताएका थिए । तर हालसम्म कुनै आधिकारिक जानकारी भएको आएको छैन । रोनाल्डोका एजेन्ट जोर्ज मेन्डेसले रोनाल्डोलाई प्रिमियर लिग क्लबमा फर्काउन पछिल्लो २४ घण्टा देखि निरन्तर लागिपरेका छन् ।
फरवार्डको खोजीमा रहेको म्यानचेस्टर सिटीलाई मेडेन्जले रोनाल्डो भित्र्याउन अफर गरेका छन् । पछिल्लो केही समयदेखि टोटेन्हामबाट ह्यारी केनलाई भित्र्याउन चाहेपनि असफल भएपछि म्यानचेस्टर सिटीले रोनाल्डोलाई अनुबन्ध गर्न चासो देखाएको छ ।
यसअघि सिटीले रोनाल्डोलाई दुई वर्षको लागि वार्षिक १५ मिलियन युरोमा अफर गरेको थियो । सन् २००३ देखि २००९ सम्म म्यानचेस्टर युनाइटेडमा बिताएका रोनाल्डोले २ सय ९२ खेल खेल १ सय १८ गोल गरेका थिए । रोनाल्डोको उमेर र अत्याधिक तलबको कारण म्यानचेस्टर सिटी बाहेक अन्य कुनै क्लबले रोनाल्डोलाई किन्न चासो देखाएका छैनन् ।
यससँगै युभेन्टसपनि रोनाल्डोको लागि राम्रो अफर आएको खण्डमा पछाडि नहट्ने विदेशी सञ्चारमाध्यमले जनाएका छ । रोनाल्डोलाई ३० मिलियन युरोसम्मको अफर आएमा युभेन्टस आफ्नो प्रमुख खेलाडीलाई बेच्न खुशी हुनेछ ।