काठमाडौं । सरकारले महाकालीमा तुइन चुँडिएर वेपत्ता भएका जयसिंह धामीको परिवारलाई सहयोग स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले धामीको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिएका छन् ।
गत साउन १५ गते दार्चुलाको व्यास गाउँपालिका–२ धामी सदरमुकाम खलङ्गामा महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर बेपत्ता भएका थिए । भारतीय एसएसबीले तुइन तर्ने क्रममा तुइनको तार काटिदिँदा घटना भएको बताइएको छ । सरकारले घटनाको छानबिन गर्न समिति गठन गरेको छ र समितिले काम गरिरहेको छ । समितिले आगामी साता प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
त्यस्तै, मन्त्रिपरिषद् बैठकले नेपाल कानुन आयोगको अध्यक्षमा पूर्व न्यायाधीश जागेश्वर सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको छ। यसैगरी, बैठकले राष्ट्रिय योजना आयोगको सदस्यमा पुपपरमन वाग्ले र सोलनी प्रधान सिंहलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ।