काठमाडौंमा फोहोरको थुप्रो

काठमाडौं। नुवाकोट र धादिङको सीमावर्ती क्षेत्रमा निर्माणाधीन बन्चरेडाँडा ल्यान्डफिल साइट निर्माणमा व्यापक ढिलासुस्ती देखिएको छ ।

गत वर्षको मंसिरमा नै सम्पन्न भइसक्नुपर्ने ल्यान्डफिल साइट अब कहिलेसम्म निर्माण सम्पन्न भएर फोहोर विसर्जन गर्न मिल्ने भन्ने अझै पनि अनिश्चित छ । हाल काठमाडौं उपत्यकाको फोहोर विसर्जन गरिँदै आएको सिसडोल भरिएपछि अहिले काठमाडौं उपत्यकामा फोहोरको थुप्रोसमेत लागेको छ ।

सरकारले २०६२ सालमै तीन वर्षभित्र बन्चरे डाँडाको पूर्वाधार तयार पारेर २०६५ सालबाट फोहोर व्यवस्थापन गर्ने लक्ष्य तय गरेको थियो । तर, सो योजना अहिलेसम्म पनि अधुरै रहेको छ ।

केपी ओली नेतृत्वको सरकारका सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले १६ कात्तिक २०७७ मा एक महिनाभित्र बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न निर्देशन दिएका थिए ।

सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएपछि साइटको निरीक्षण गर्न पुगेका मन्त्री श्रेष्ठले कुनै पनि बहानामा आलटाल नगरी तोकिएकै समयमा फोहोर व्यवस्थापन गरिसक्न निर्देशन दिए पनि ढिलासुस्तीका कारण अहिलेसम्म फोहोर व्यवस्थापन गर्न सकिएको छैन ।

लुम्बिनी–कोसी एन्ड न्यौपाने जेभीका प्रतिनिधि डम्बरबहादुर न्यौपानेले सो समयमा १ मंसिरसम्ममा फोहोर विर्सजन गर्न मिल्नेगरी अन्तिम काम भइरहेको जानकारीसमेत गराएका थिए ।

सरकारले एकपटक निर्देशन दिएर चुप लागेर बस्ने र ठेकेदार कम्पनीले ढिलासुस्ती गरेका कारण ल्यान्डफिल्ड साइटको निर्माण तोकिएको समयमा निर्माण सम्पन्न हुन नसकेको हो ।

सहरी विकास तथा भवन निर्माण विभागले हालसम्म करिब ४० करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ । पहिलो चरणमा ३४ करोड ६८ लाख ७४ हजार र दोस्रो चरणका लागि ४६ करोड ५ लाख ९४ हजार रुपैयाँको ठेक्का सम्झौता गरिसकेको छ । पहिलो चरणको निर्माण सम्झौता २२ वैशाख २०७७ सम्म थियो । लुम्बिनी–कोसी एन्ड न्यौपाने जेभीले तोकिएको समयमा निर्माण सम्पन्न गर्न नसकेपछि विभागले २२ कात्तिक २०७७ सम्म म्याद थपेको थियो । आजको राजधानी दैनिकमा टेनिस रोकाले खवर लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *