देवघाटमा शवदाहगृह निर्माणमा ढिलाइ

चितवन । पवित्र तीर्थस्थल देवघाट धाममा थालिएको शवदाहगृह निर्माणमा ढिलाइ भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले ठेक्का लगाएको शवदाहगृहको म्याद गुज्रिनै लाग्दासमेत कामले गति लिनसकेको छैन ।

पशुपतिनाथपछि सबैभन्दा धेरै अन्तिम दाहसंस्कार गर्ने ठाउँ देवघाट हो । दाउराबाट जलाएर दाहासंस्कार गर्न कठिन हुन थालेपछि भरतपुर महानगरपालिका र देवघाट क्षेत्र विकास समितिको समेत पहलमा विद्युतीय शवदाहगृह निर्माणको प्रक्रिया अघि बढेको थियो ।

सङ्घीय सरकारको बजेटबाट थालिएको शवदाहगृह निर्माणका लागि मूल्य अभिवृद्धि करबाहेक नौ करोड ९२ लाखमा निर्माण गर्ने गरी ठेक्का लगाइएको हो ।

विसं २०७५ माघ ३ गते सम्झौता हुँदा दुई वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने उल्लेख छ । कोभिड–१९ को कारण देखाउँदै पुनः छ महिना म्याद थपियो र २०७८ साउनमा काम सम्पन्न हुनुपर्ने थियो । थपिएको म्यादसमेत सकिँदा बल्ल काम थालिएको छ । निर्माण कछुवाको गतिमा रहेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरे बताउँछन् ।

निर्माण ढिलाइ हुँदा अहिले दाउराको प्रयोगबाट शव जलाउने गरिँदै आएको छ । घिमिरेले भने, “कोभिडको समयमा एक दिनमा ३३ शवसमेत दाहसंस्कारका लागि ल्याइएको थियो, तर ठाउँ साँघुरो र वर्षाको समय हुँदा लाइनमा बस्नुपर्ने बाध्यता भयो ।”

कोभिड–१९ सङ्क्रमितको शव व्यवस्थापनका लागि छुट्टै ठाउँ तोक्दा पनि नियमित शव जलाउने ठाउँमा भीड हुने गरेको उनको भनाइ छ । समितिले निर्माण छिटो गर्न ताकेता गरिरहेको घिमिरे बताउँछन् । विद्युतीय शवदाहगृह निर्माण भए दाउरा पाउन कठिन भइरहेको परिस्थिति अन्त्यसँगै सहजै दाहसंस्कार गर्न टेवा पुग्ने उनको भनाइ छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयका प्रमुख प्रकाश अर्यालले निर्माणमा ढिलाइ भएको स्वीकार्दै चाँडै निर्माण सक्न ठेकेदार कम्पनीलाई मौखिक, लिखित साथै राष्ट्रिय पत्रपत्रिकामार्फत ध्यानाकर्षण गराइरहेको बताए ।

निर्माण हुने जमिन नारायणी नदी नजिकै रहेकाले ठूलो बाढीका कारण निर्माणमा समस्या भएको उनको भनाइ छ । निर्माणपछि शवदाह गर्ने मेसिनमा समस्या नहोस् भनेर डिजाइनसमेत परिवर्तन गर्नुपर्दा ढिलो भएकाले अब सरासर काम भए एक वर्षभित्र निर्माण सक्ने उनी बताउँछन् ।

छ सय वर्गमिटरमा बन्ने उक्त शवदाहगृहमा दुई मेसिन जडान गरिने र एकैपटक दुई शवदाह गर्न सकिने सुविधा हुनेछ । साथै सागर जानेहरुलाई बस्ने ठाउँ, खानेपानी, शौचालयलगायतका सुविधासहितको भवन बन्ने अर्यालले बताए ।

पिलरको मात्रै काम गरेको निर्माण कम्पनी मिलिनियम–सिद्धगढी जेभी काठमाडौँले दुई किस्ता गरेर एक करोड छ लाख ३९ हजार लगिसकेको छ ।

यता महानगरपालिकाले ठेकेदार कम्पनी र सघन सहरी विकासका कर्मचारीलाई राखेर पटक–पटक काम समयमा सम्पन्न गर्न दबाब दिँदै आएको छ । नगर प्रमुख रेनु दाहालले महानगरभित्रका आयोजनामा कुनै कठिनाइ भएमा सहयोग गर्न महानगर तयार रहेकाले ठेकेदार कम्पनीले समयमा नै काम सम्पन्न गर्नुपर्ने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *