अफगानिस्तानबाट थप ११२ नेपाली स्वदेश फिर्ता

काठमाडौं । अफगानिस्तानबाट मङ्गलबार थप ११२ जना नेपाली स्वदेश फर्किएका छन् । तीमध्ये जोर्डन एभिएसनको उडानबाट १०३ र कतार एयरको उडानबाट नौ जना रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । योसँगै अफगानिस्तानबाट हालसम्म ७७० जना नेपाली स्वदेश फर्किएका छन् ।

आगमनपश्चात् अध्यागमनलगायतका आवश्यक प्रक्रिया पूरा गरी सिसिएमसीको समन्वयमा उहाँहरुलाई सामाखुसीस्थित नेपाल सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार कोभिड–१९ को परीक्षणलगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको छ ।

अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन र नयाँदिल्लीमा रहेका नेपालीलाई काठमाडौँसम्म ल्याउनका लागि निरन्तर समन्वय र सहजीकरण भइरहेको परराष्ट्रले जनाएको छ ।

मन्त्रालयका अनुसार अफगानिस्तानबाट उद्धार भई नेपाली नागरिक फर्कने क्रम जारी रहेका छन् । अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सरकारले आफ्नो विवरण भर्नका लागि कन्सुलर सेवा विभागको बेवपोर्टल तथा भाइबर र ह्वाट्एपसहितको मोबाइल नम्बरसमेत उपलब्ध गराएको छ । सरकारले नाम टिपाएकामध्ये उद्धार भई सुरक्षित गन्तव्यमा पुगेपछि सरकारले उपलब्ध गराएको फोन नम्बरमा जानकारी उपलब्ध गराउन आग्रहसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *