जोखिममा नेपाली: सरकारसँग न तथ्यांक न उद्धार तयारी

काठमाडौं। आन्तरिक द्वन्द्वका कारण अफगानिस्तानमा हत्या, हिंसा बढ्दै जाँदा त्यहाँ रहेका नेपालीलगायत विदेशी नागरिक जोखिममा परेका छन्। आफ्ना नागरिक जोखिममा परेपछि धेरै मुलुकले घर फिर्ता गर्न थाले पनि नेपाल सरकारले रोजगारीका लागि अफगानिस्तान पुगेका नेपालीलाई फर्काउनेबारे कुनै निर्णय गरेको छैन।

विद्रोही समूह तालिवानले अफगानिस्तानको राजधानी काबुलबाहेक अन्य क्षेत्र कब्जामा लिएको घोषणा गरिसकेको छ। वैदेशिक रोजगार विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले अफगानिस्तानमा रहेका नेपालीलाई के गर्ने भन्नेबारे अहिलेसम्म केही निर्णय नभएको बताए।‘ अफगानिस्तानमा संकट उत्पन्न भएपछि त्यहाँ रहेका नेपालीलाई के गर्ने भन्नेबारे विभिन्न निकायमा छलफल भइरहेको छ, ’उनले भने,‘तर अहिलेसम्म कुनै टुंगोमा पुग्न सकिएको छैन।’ खासगरी अफगानिस्तान पुगेका नेपाली संयुक्त राष्ट्रसंघका विभिन्न कार्यालय, अमेरिकी, बेलायती तथा क्यानेडियन राजदूतावासमा सुरक्षा गार्डको काम गर्छन्।

कतिपय नेपाली विदेशी सेनाको सहयोगीका रूपमा पनि रहेको विभागले जनाएको छ। भट्टराईका अनुसार २०७६ सालदेखि हालसम्म अफगानिस्तान जान दुई हजार एक सय २२ नेपालीले श्रम स्वीकृति लिएका छन्। ‘श्रम स्वीकृति लिएर त्यहाँ पुगेकामध्ये कतिपय फर्किसकेका पनि होलान्,’ उनले भने, ‘अहिलेसम्म अफगानिस्तानमा कति नेपाली छन् भन्ने यकिन तथ्यांक छैन।’

श्रम स्वीकृति लिएकाबाहेक कतिपय नेपाली अवैध तरिकाले पनि अफगानिस्तान पुगेको हुन सक्ने अनुमान छ। विभागका अधिकारीहरू त्यहाँ रहेका नेपालीले समस्यामा परेको भन्दै उद्धारका लागि आग्रह नगरेका कारण अफगान समस्याबारे उपल्लो तह गम्भीर हुन नसकेको अनुमान गर्छन्। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *