माओवादीको राष्ट्रिय सम्मेलन पुसमा गर्न प्रस्ताव

काठमाडौं। नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म हुने भएको छ । स्थानीय र प्रदेशस्तरका अधिवेशनहरू सकेपछि पुस ११ गते पार्टीको राष्ट्रिय सम्मेलन हुने भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबारबाट शुरु भएको केन्द्रीय कमिटी बैठकमा पेस गरेको आठबुँदे राजनीतिक एवं संगठनात्मक प्रतिवेदनमा पुसमा राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका छन् ।

प्रचण्डको प्रस्तावमा यही भदौ मसान्तभित्र माओवादी केन्द्रले देशैभरि पार्टी सदस्यता वितरण एवं नवीकरणको काम सम्पन्न गर्ने उल्लेख गर्दै असोजमा टोलदेखि वडा हुँदै गाउँ सम्मेलनहरु गरिसक्ने र कात्तिकमा जिल्ला अधिवेशन गर्ने बताइएको छ ।

देशैभरका वडाहरूमा एकैदिन सम्मेलन सम्पन्न गर्ने प्रस्ताव गर्दै प्रचण्डले ७७ जिल्लाको सम्मेलन पनि एकैदिन गर्ने उल्लेख गरे । मंसिर १५ मा सातै प्रदेशको अधिवेशन सम्पन्न गरेपछि माओ दिवसको दिन पारेर पुस ११ गते राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डको प्रस्तावमा उल्लेख गरिएको छ ।

प्रस्तावअनुसार भदौ मसान्तसम्म सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने, असोज १० गते–देशैभर एकैदिन सेल र टोल भेला गर्ने, असोज २० गते वडा सम्मेलन गर्ने, असोज ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन, कात्तिक ३० गते जिल्ला सम्मेलन गर्ने, मंसिर १५ गते प्रदेश सम्मेलन र पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्ने उल्लेख गरिएको छ । नेपाल समाचारपत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *