काठमाडौं,। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमा अझ शक्तिशाली बन्ने महत्वाकांक्षा बढेको छ । उनले पार्टीमा अझ प्रभाव बनाउन खोजेका छन् । त्यसका लागि विधान संशोधनको प्रस्ताव स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा लगेका छन् ।
ओलीले एमालेको महाधिवेशनबाट पदाधिकारीमध्ये अध्यक्ष र महासचिवमात्र प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्न लागेका छन् । उपाध्यक्षको संख्या घटाएका छन् भने सचिवको संख्या बढाएका छन् । केन्द्रीय कमिटी प्रत्यक्ष निर्वाचित हुने र त्यसैले उपाध्यक्ष र सचिव चयन गर्ने व्यवस्था गर्न लागेका छन् । यो उनको आफू शक्तिशाली बन्ने रणनीति हो ।
विगतमा माधव नेपाल अध्यक्षमा र सुरेन्द्र पाण्डे महासचिवमा पराजित हुँदा पनि ओलीइतर समूहका बढी पदाधिकारी निर्वाचित भएका थिए । अध्यक्ष शक्तिशाली बन्ने गरी उनले पछिल्लो कदम चालेका छन् ।केन्द्रीय कमिटीको संख्या पनि बढाउने गरी व्यवस्था गरेका छन् । यसले उनी पार्टीभित्र विरोधीलाई कमजोर बनाउने गरी बढेको देखिदैछ ।
एमालेभित्र विगतमा पदाधिकारी र स्थायी कमिटीमा ओली अल्पमतमा रहे । यसले उनी अप्ठ्यारोमा परेका थिए । अब उनी पुरानै अवस्था नदोहोरिने गरी बढेका छन् । ओलीले एमालेको विधानबाट ७० वर्षे उमेर हद समेत खारेज गर्दैछन् । उनी आफै ७० वर्ष पुगिसकेका छन् । अर्को कार्यकाल पनि अध्यक्ष बन्ने गरी ओलीले वातावरण तयार गरिरहेका छन् ।
एमालेभित्र माधवकुमार नेपाललाई कुनै स्थान नदिने गरी ओलीको रणनीति देखिन्छ । नेपाल एमालेभित्रै रहने हो भने निरिह भएर रहनुपर्ने अवस्था सृजना भइसकेको छ ।
ओलीको अझ शक्तिशाली बन्ने महत्वाकांक्षा बुझेर उपाध्यक्ष बामदेव गौतम पनि चिढिएका छन् । उनले ओलीसँग एउटै पार्टीमा रहिरहन नसकिने निष्कर्ष निकालेको बुझिएको छ ।