एमाले विधान महाधिवेशन आगामी भदौ २७ र २८ गते

काठमाडौं। पार्टीभित्रको आन्तरिक किचलो कायमै रहेको बेला नेपाल कम्युनिस्ट पार्टी एमालेले आगामी भदौ २७ र २८ गते विधान महाधिवेशनको आयोजना गर्ने भएको छ ।

एमाले संस्थापन पक्षको सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटीको प्रस्तावलाई अनुमोदन गर्दै पहिलोपटक पार्टीको विधान महाधिवेशन गर्ने निर्णय गरेको हो । कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार स्थायी कमिटीले प्रस्ताव गरेको संशोधित नयाँ विधानको प्रस्तावमा पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाई पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ ।

त्यस्तै, अध्यक्ष र महासचिवबाहेक अन्य पदाधिकारी महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले चुन्ने पनि प्रस्तावित संशोधनमा उल्लेख गरिएको तामाङले बताए । विधान संशोधन पारित भएसँगै केन्द्रीय कमिटी २ सय २५ जनाको राख्ने, पार्टीले उपाध्यक्षको संख्या घटाउने र सचिवको संख्या बढाउने पनि प्रस्तावित विधानमा उल्लेख छ ।

विधान महाधिवेशनका निम्ति पार्टीले चारवटा समिति गठन गर्ने निर्णयसमेत गरेको छ । ती समितिहरूले तयार पारेको मस्यौदालाई स्थायी कमिटी र केन्द्रीय कमिटीले पारित गरेपछि विधान महाधिवेशनमा पेश गरिनेछ ।

राजनीतिक प्रतिवेदन मस्यौदा समितिको संयोजक अध्यक्ष केपी शर्मा ओली आफैं रहेका छन् भने सदस्यहरूमा वामदेव गौतम, रामबहादुर थापा बादल, प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, विष्णु रिमाल, विन्दा पाण्डे रहेका छन् ।

अध्यक्ष ओली समूहको केन्द्रीय कमिटीको उक्त निर्णयप्रति वरिष्ठ नेता माधवकुमार नेपाल समूहले असन्तुष्टि जनाएको छ । नेपाल समाचारपत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *