नेपाली काङ्ग्रेसभित्र विशेष महाधिवेशनको चर्चा

दुर्गाप्रसाद गौतम ।

क्रियाशिल विवाद टुङ्गो लगाउन गठित समितिले सम्पूर्ण विवाद समाधान गर्न सकेन। समितिबाट समाधान नभएका विवादहरु नेतृत्व तहबाट समाधान गर्ने भनी आफ्नो प्रतिवेदन समितिले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष बुझाएको छ । यही क्रियाशिल विवादका कारण वडा तहको अधिवेशन कार्यतालिका अनुसार शुरु हुने केही दिन अगाडि मात्र स्थगित हुँदा पूर्वनिर्धारित नेपाली काङ्ग्रेसको महाधिवेशन नै स्थगन हुने आशंका पैदा भएको छ । भलै नेपाली काङ्ग्रेसले वडा अधिवेशन स्थगन गर्ने बाहेक तय गरिएको महाधिवेशनका सम्बन्धमा आधिकारिक रूपमा केही बोलेको छैन ।

आधिकारिक विज्ञप्ति बिना माहाविवेशन स्थगित नै भयो भनी ठोकुवा गर्न नमिलेपनि आजसम्मको घटनाक्रम र काङ्ग्रेसको तयारीलाई हेर्दा करिब करिब नेपाली काङ्ग्रेसको महाधिवेशन, महाधिवेशनका सबै प्रकृया पुरा गरि तोकिएको मितिमा नै हुन्छ भन्ने विश्वास अब नेपाली काङ्ग्रेसका अगुवा कार्यकर्ता, शभेच्छुक तथा आमनेपाली जनतामा भने शून्य प्रायः छ । हुनत मुलुककै आफूलाई लोकतन्त्रको नै पर्यायवाची दावा गर्दै आएको नेपाली काङ्ग्रेसभित्र पछिल्लो समय आफ्नो संगठनको संरचनालाई चुस्त दुरुस्त बनाउने र बेलैमा अधिवेशन गरि प्रजातान्त्रिक तवरबाट नेतृत्व विकास गर्ने परिपाटी क्षीण हुँदै गएको छ ।

उक्त कुराको पुष्टि नेपाली काङ्ग्रेसका प्रायजसो भातृ संस्थाहरुको लामो समयदेखि हुन नसकेका अधिवेशनहरु तथा यी भगिनी संस्थाहरुको नेतृत्वमा पनि पदाधिकारी भागबन्डा हुँदै आएबाट हुन्छ । अझ भगिनी संगठनका पदाधिकारीहरुको क्रियाकलाप संघसंगठनको पूर्णता र विस्तारको लागि भन्दापनि केबल गणेशले कैलाशको परिक्रमा गरेजस्तै पार्टी नेतृत्व जसको फेर समातेर पद प्राप्त भएको छ उसैको परिक्रमा गर्दैमा बितेको छ। यो क्रम केन्द्रदेखि वडा तहसम्म नै विस्तार भएको देख्दा जनतासँगको सामिप्यबाट काङ्ग्रेस विस्तारै बिमुख हुँदै जाने निश्चित छ । किनकी जनताकाबीच नेपाली काङ्ग्रेसको समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने वडा समिति तथा भगिनी संघ संगठनहरुनै कृयाशिल नहुँदा आम जनसमुदायसँको नेपाली काङ्ग्रेसको सामिप्यता पातलिँदै गएको छ ।

पछिल्लो समय नेपाली काङ्ग्रेसको तल्लो तहदेखि माथिल्लो तहसम्मको तहगत नेतृत्व केबल गुट उपगुटका गतिविधिमा मात्र सामेल हुने र गुटबन्दी भन्दा बाहिर निषेधको राजनीति गर्ने क्रियामा उद्दत रहँदा यसले नेपाली काङ्ग्रेसका विभिन्न तहगत संरचनाहरु केबल संरचनाका लागिमात्र हुन पुगेका छन् ।

जसका कारण नेपाली काङ्ग्रेसका विभिन्न तहगत संरचनाहरुबाट नेपाली समाजका विभिन्न तह र तप्काका जनमानसको चाहना अनकुलका सामाजिक ,साँस्कृतिक, आर्थिक तथा अन्य गतिबिधिहरुमा आफ्नो सशक्त उपस्थिति र प्रस्तुती दुबै हुन सकिराखेको छैन । यही कारण युवा पुस्ताको ठूलो पंक्ति नेपाली काङ्ग्रेसको सिद्धान्तप्रति बैचारिक रुपमा सहमत हुँदाहुँदै पनि व्यवहारगत रुपले काङ्ग्रेसप्रति आर्कषित र उत्साहित हुन सकेको छैन ।

माहाधिवेशनबाट सशक्त रुपमा यस्ता प्रक्रियागत त्रुटीहरु सच्याउँदै उन्नत नेतृत्वको आवाज चौतर्फी रुपमा उठिरहेको बेला नेपाली काङ्ग्रेसको निर्धारित मितिका लागि तोकिएको अधिवेशन स्थगन हुनु र अधिवेशनको लागि नयाँ कार्यतालिका पनि नआउनुले नेपाली काङ्ग्रेसको माहाधिवेशनका सन्दर्भलाई लिएर अनेकौं टीका टिप्पणी र अड्कलबाजीहरु हुन थालेका छन् ।

नेपाली काङ्ग्रेसलाई संविधानतः यो अधिवेशन भदौ भन्दा पर सार्ने वैधानिक आधार छैन । भनिएतापनि अहिले अघिल्लो पंक्तिकै नेपाली काङ्ग्रेसको नेतृत्वमा रहेका नेताहरू नै पार्टीमा आफ्नो बर्चस्व र पहुँच कायम रहने गरि माहाधिवेशनको प्रारुप खोज्न तल्लीन छन् । यसका लागि संवैधानिक तथा कानुनी संकट समाधानका कानुनी आधारका छिद्रहरुलाई केलाउँदै दुई बर्षका लागि विशेष अधिवेशनको तयारीमा लागेका छन् र भित्री रुपमा नेपाली काङ्ग्रेसका अग्रपंक्तिका सबैजसो नेतागणहरु उक्त प्रकृतिको अधिवेशनका लागी तयार छन् भन्ने बजारी हल्ला व्यापक सुन्नमा आएको छ।

हुनत हावा नलागी पात हल्लिदैन भने झैं नेपाली काङ्ग्रेसको पदाधिकारी स्तरमा केही छलफल नभई यस्ता कुराहरु केबल बजारी हल्लाको लागिमात्र नभएको हुनुपर्छ । नेपाली काङ्ग्रेसले गर्ने यस्तो विशेष अधिवेशनले वर्तमानको पहिलो र दोस्रो पुस्ताका अगुवा सन्तुष्ट तथा असन्तुष्ट दुबै पक्षलाई नयाँ बन्ने कार्यसमितिको पदाधिकारीमा समावेश गरि वैधानिकता त प्राप्त गर्छ । तर यो वैधानिकताले साङ्ठानिक रुपमा लथालिङ्ग हुँदै गएको व्यक्तिगत, गुटगत,उपगुटगत प्रक्रियामा नराम्ररी जकडिएको काङ्ग्रेसलाई साङठानिक, वैचारिक दृष्टिकोणले सिञ्चित गरी कसरी अगाडि बढ्ला भन्ने चाहिँ अहम् सवाल हो ।

काङ्ग्रेसलाइ साँच्चिकै पहिलाको अवस्थामा पुर्याउनका लागि वर्तमान काङ्ग्रेसको संगठनात्मक ढाँचामा व्यापक परिवर्तन जरुरी छ । साथै जतिसक्दो चाँडै नेपालको संविधानत व्यवस्था गरिएका तीनवटै तहमा पूर्ण स्वरुपको संगठन खडा गरि त्यसबाट जनमुखी कार्यक्रममार्फत व्यापक रुपमा क्रियाशिल कार्यकर्तालाई परिचालन गर्नुपर्छ । यसका लागि पनि सबै तहहरुमा अधिवेशन हुनुपर्छ । स्वतन्त्रसँग पार्टीमा आइ काम गर्ने इच्छा जाहेर गर्ने जोस जाँगर भएका नयाँ अनुहारहरुलाई यथेस्ट अवसर प्रदान गरेर संगठनका विभिन्न तहहरुमा लगाउनु पर्छ ।

पूर्णकालिन अधिवेशनबाट आएको नेतृत्वलाई नेपाली काङ्ग्रेससँग आवद्ध रहेका सम्पूर्ण भगिनी संघ संगठनहरुलाई यिनीहरुको बिधिसम्मत अधिवेशनबाट नेतृत्व चयनका लागि निर्देशन दिने फ्रेस म्यान्डेट प्राप्त हुन्छ । सोही अनुसारको निर्देशन र भगिनी संघ संगठनहरुले अबलम्बन गर्ने तदनुसारको व्यवहारले नेपाली काङ्ग्रेसको सिङ्गो पार्टी जीवनमा नयाँ रक्तसंचार हुनगई मुलुकभरनै काङ्ग्रेस संगठनका गतिविधिहरु बढ्छन् ।

यसले आममानिसमा काङ्ग्रेस प्रतिको विश्वास र भरोसामा वृद्धि गर्दछ र नेपाली काङ्ग्रेस साँचो अर्थमा जनताको भरोसायोग्य पार्टी बन्छ । यसले काङ्ग्रेसलाई आगामी स्थानीय र आम निर्वाचनमा बहुमत सहित पहिलो तथा सशक्त पार्टीको रुपमा स्थापित गर्ने ठूलो अवसर सृजना गर्ने छ । तर बिडम्बना काङ्ग्रेसका दुबै पक्षहरू सस्थापन र इतर पक्ष माहाधिवेशनलाई नेपाली काङ्ग्रेसको नेतृत्व प्राप्त गर्ने अवसरका आधारमा मात्र उपयोग गर्न चाहिँ रहेको देखिन्छ ।

वर्तमान समयमा नेपाली काङ्ग्रेसका दुबै पक्षका अग्रपंक्तिका नेतृत्वहरु आफूहरुले नेतृत्वमा कब्जा जमाउन सक्ने स्थिति रहेमा मात्र महाधिवेशन चाहन्छ। अन्यथा कुनै न कुनै प्रक्रियाबाट यो अधिवेशनलाई आफू अनकुल पछि धकेल्न नै चाहन्छन् । संस्थापन पक्षले आफ्नो भित्री अंकगणितबाट नेपाली काङ्ग्रेसका बहाल सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पुनः सभापति निर्वाचित हुनुहुन्छ भन्ने कम्फर्ट महसुस गरेको खण्डमा जुनसुकै अवस्थामा पनि महाधिवेशन गर्ने पक्षमा उभिने र प्रतिकुल अवस्था देखिएमा विकल्प खोजी अनकुल समयका लागि अधिवेशन सार्न चाहन्छ । यही मनोदशाको शिकार संस्थापन इतर पक्ष पनि भएको छ।

इतर पक्ष पनि महाधिवेशनमा आफ्नो पक्ष निर्वाचित हुने स्पष्ट अकंगणितीय आँकडा देखिएमा सानातिना विवादहरुलाई कम्प्रोमाइज गरेरै भयपनि अधिवेशनलाई अगाडि बढाउने तर परिस्थिति प्रतिकुल देखिइ पुनः देउवा नै सभापति निर्वाचित हुने परिस्थितिमा दुई बर्षको लागि विशेष अधिवेशनमार्फत देउवालाई पुनः पन्ध्रौं महाधिवेशनमा सभापति नउठ्ने सर्तमा सभापति निर्वाचित गर्न र पदाधिकारीमा संवैधानिक व्यवस्था अनुसारको व्यवस्थापनबाट इतर पक्षका नेताहरुको व्यवस्थापन गर्ने र पन्ध्रौं महाधिवेशन आफ्नो पक्षमा पार्ने दाउमा देखिन्छ ।

नेपाली काङ्ग्रेसको मुल नेतृत्वलाई केन्द्रबिन्दुमा राखी नेतृत्वको उच्च तहमा रहेका नेतागणहरुकै यो बिरोधाभाषपूर्ण चरित्रले नेपाली काङ्ग्रेसको माहाधिवेशन आमशुभचिन्तक ,शुभेच्छुक ,उर्जाशिल पार्टी कार्यकर्ताले चाहेजस्तो नहुन सक्छ । यसो हुँदा क्षणिक रूपमा नेतृत्वमा नेतागणहरुले चाहेको वर्चस्व त कायम होला तर त्यसले जनस्तरमा नेपाली काङ्ग्रेसको पक्षमा जागरण पैदा गर्न गाह्रो छ।

अत: वर्तमानमा नेपाली काङ्ग्रेसको अग्रपंक्तिमा रहेको सिङ्गो नेतृत्व तहका नेतागणहरुले तँ, म नभनिकन प्रजातान्त्रिक परिपाटीवाट निर्वाचित भै आउने नेतृत्व नेपाली काङ्ग्रेसको साझा नेतृत्व हो र त्यसमा हामी सबैको भावनाको प्रतिनिधित्व गर्छ भन्ने अठोटका साथ ढिला नगरिकन काङ्ग्रेस महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरेर महाधिवेशन गर्नेतर्फ लाग्नुपर्छ ।यसैमा सबै काङ्ग्रेसी र सिङ्गो काङ्ग्रेसको भलो हुन्छ।

लेखकः आर्य एकेडेमी सितापाइलाका संस्थापक प्रिन्सिपल हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *