निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

काठमाडौं। निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार अहिले निगम ४ अर्ब रुपैयाँ घाटामा गएको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा निरन्तर इन्धनको मूल्य बढेकाले निगमले अहिले घाटा बेहोर्नुपरेको हो । अघिल्लो आर्थिक वर्ष २०७६-७७ मा मात्र निगमले १२ अर्ब ८७ करोड रुपैयाँ नाफामा कमाएको थियो । आव २०७१-७२ देखि नाफा कमाउँदै आएको निगम ६ वर्षपछि आएर घाटामा गएको छ । गत पुसदेखि निरन्तर इन्धनको मूल्य बढ्दै गएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा निगमको व्यापारमा प्रत्यक्ष असर परेको छ ।

निगमका अनुसार पेट्रोलियम पदार्थको आयात भने १० अर्ब रुपैयाँले बढेको छ । बजारमा इन्धनको खपत बढेकाले अघिल्लो वर्षको तुलनामा गएको आर्थिक वर्षमा इन्धन आयात बढेको निगमले जनाएको छ । नेपालमा आयात हुने वस्तुमध्येमा सबैभन्दा बढी आयात हुने पेट्रोलियम पदार्थ नै हो ।

निगमका अनुसार आव २०७६-७७ मा १ खर्ब ४५ अर्ब रुपैयाँबराबरको २६ लाख किलोलिटर पेट्रोलियम पदार्थ आयात भएकामा आव २०७७-७८ मा वर्ष १० अर्ब रुपैयाँले आयात बढेर १ खर्ब ५५ अर्ब रुपैयाँबराबरको २८ लाख ६७ हजार किलोलिटर इन्धन आयात भएको छ ।

निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार बजारमा खपत बढेकाले १० अर्ब रुपैयाँले इन्धन आयात बढेर १ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कोभिडको संक्रमण नियन्त्रण गर्न लामो समयसम्म गरिएको निषेधाज्ञाको कारणले गर्दा बजारमा इन्धन खपत कम भएको थियो । यो वर्ष निषेधाज्ञा नभई निरन्तर रूपमा सवारी साधन चलेकाले पनि इन्धन आयात बढेको हो ।

निगमका अनुसार एक वर्षमा सबैभन्दा धेरै डिजेल १७ लाख किलोलिटर आयात भएको छ । यस्तै, पेट्रोल ५ लाख ८७ हजार किलोलिटर, मट्टीतेल २४ हजार किलोलिटर र हवाई इन्धन ६८ हजार किलोलिरट आयात भएको छ । यस्तै, खाना पकाउने एलपीजी ग्यास ४ लाख ८५ हजार ७ सय मेट्रिक टन आयात भएको निगमले जानकारी दिएको छ । आजको राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *