अन्तर्राष्ट्रिय विमानस्थल निर्माण छ महिना पर स-यो

पोखरा। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अवधि छ महिना पछि सरेको छ । सम्झौता अवधिभन्दा छ महिनाअगावै निर्माण सम्पन्न गर्नेगरी काम भइरहेकामा कोभिड–१९ का कारण विश्वव्यापी बन्दाबन्दीले अवधि छ महिनापछि सरेको हो ।

करिब २२ अर्ब रुपियाँको लागतमा २०७८ असार २६ भित्र सम्पन्न गर्नेगरी २०७४ असारदेखि निर्माण सुरु गरेको चाइना सीएएमसी इन्जिनियरिङले कोरोनाका कारण सामग्री आयातमा समस्या भएकाले समयमा निर्माण सम्पन्न हुन नसकेको जनाएको छ । विमानस्थलको निर्माणको काममा निर्माण कम्पनीले तीव्रता दिएकै कारण छ महिनाअगावै सम्पन्न गर्ने लक्ष्य लिइएकोमा कोभिड–१९ का कारण समय अवधिभन्दा छ महिना पछि धकेलिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख विनेश मुनकर्मीले जानकारी दिए ।

गत वर्षको छ महिने बन्दाबन्दी र यस वर्षको तीन महिने बन्दाबन्दीका बीचमा पनि विमानस्थलमा नियमित काम भइरहेकाले अबको छ महिनाभित्र निर्माण सम्पन्न गरी २०७८ सालभित्रै परीक्षण उडान गर्ने तयारी भइरहेको मुनकर्मीले बताए । तीन सयभन्दा बढी कामदारले निरन्तर काम गरिरहेको विमानस्थलका लागि आवश्यक उपकरण तथा सामग्री विदेशबाट ल्याउनुपर्ने भएकाले निर्माण सम्पन्न गर्ने समय थपिएको हो ।

सम्झौताअनुसार असार २६ गते निर्माण सम्पन्न हुनुपर्नेमा यस अवधिमा ८१ प्रतिशत भौतिक र ६८ प्रतिशत आर्थिक प्रगति भएको छ । भौतिक रूपमा बाँकी १९ प्रतिशतमध्ये ९ प्रतिशत सिभिल निर्माणको काम र १० प्रतिशत उपकरण जडानका काम रहेका छन् । विमानस्थलमा प्रयोग हुने उपकरण केही आइसकेको र केही आउन बाँकी छन् । उपकरणसँगै जडानका लागि विभिन्न मुलुकबाट जनशक्तिसमेत आउनुपर्ने भएकाले अन्तर्राष्ट्रिय उडान नहुँदा जनशक्ति आउन नसकेको आयोजनाले जनाएको छ ।

विमानस्थलमा प्रयोग हुने उपकरण चीन, अमेरिका, नर्वे, अस्ट्रेलियालगायतका मुलुकबाट आउँछन् । अहिले विमानस्थलको सजावट, टायल लगाउने, रङ लगाउने, इनोभेटर, स्काभेटरको काम भइरहेको छ । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *