कांग्रेस क्रियाशील सदस्यताः सभापतिलाई आज प्रतिवेदन बुझाइँदै

काठमाडौं। नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवादले अब निकास पाउने भएको छ । क्रियाशील सदस्यताको छानबिन गर्न गठित समितिले आफ्नो जिम्मेवारी पूरा गरी मङ्गलबार पार्टी सभापति शेरबहादुर देउवासमक्ष अन्तिम प्रतिवेदन बुझाउने भएको छ । झन्डै पाँच महिनाको निरन्तर छानबिनपछि समितिले आफ्नो जिम्मेवारी पूरा गरी प्रतिवेदन बुझाउन लागेको समितिले जनाएको छ ।

पार्टीको केन्द्रीय समितिले असार २० गतेसम्म छानबिन कार्य पूरा गर्न समितिलाई समयसीमा दिए पनि विवाद बढेपछि कांग्रेसको पदाधिकारी बैठकले समितिको म्याद असार मसान्तसम्म थप गर्दा पनि विवाद समाधान हुन नसकेपछि सभापति देउवाले तत्काल यसको समाधान गर्न र महाधिवेशनमा जुट्न निर्देशन दिएका थिए ।

सभापतिको निर्देशनपछि केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा गठित समितिले आफ्नो कार्य पूरा गरेको जानकारी सो समितिले दिएको हो ।यसैबीच काँग्रेसका सभापति देउवाले आज पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका छन्।

पार्टीको क्रियाशील सदस्यताको अन्तिम निकास निकाल्नुका साथै महाधिवेशनको आवश्यक तयारीसमेत गर्न पदाधिकारी बैठक बोलाइएको जनाईएको छ। सभापतिको निजी निवास बूढानीलकण्ठमा बोलाइएको सो बैठकमा महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुने जनाइएको छ । बैठक अहिले १० बजे बस्ने तयारीमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *