शैक्षिक क्षेत्रका समस्या समाधान चाँडै

काठमाडौं, साउन ११। प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा क्षेत्रमा देखिएको अन्योल हटाउन तयारीका साथ काम प्रारम्भ गरिने बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको नियुक्ति भएलगत्तै शैक्षिक क्षेत्रका समस्या समाधान गर्ने हिसाबबाट सरकारले काम थाल्ने प्रतिबद्धता उनले जनाएका हुन् ।

नेपाल शिक्षक सङ्घको प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्नुहुँदै प्रधानमन्त्री देउवाले आफ्नो तर्फबाट शैक्षिक क्षेत्रका समस्या समाधानका लागि सक्दो पहल गर्ने बताएका छन् । नेपाल शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र पौडेलले प्रधानमन्त्रीसमक्ष आफूहरूले विभिन्न माग राखेकोमा त्यसप्रति सकारात्मक आश्वासन प्राप्त भएको जानकारी दिए। सङ्घले सङ्घीय शिक्षा ऐन तत्काल बनाउनुपर्ने मागलाई मुख्य रूपमा उठाएको छ ।

विसं २०७२ मा नेपालको संविधान जारी भए पनि अहिलेसम्म सङ्घीय ढाँचाअनुसारको शिक्षा ऐन बन्न सकेको छैन । यसअघि शिक्षा मन्त्रीहरूले सङ्घीय शिक्षा ऐन बनाउने प्रतिबद्धता जनाए पनि त्यसतर्फ ठोस काम हुन सकेको छैन । यसका साथै उच्च स्तरीय शिक्षा आयोग र दरबन्दी पुनर्वितरण कार्यदलको सिफारिसअनुसार कमी भएको दरबन्दी प्रक्षेपण गर्नुपर्ने माग सङ्घले अघि सारेको छ । यसका साथै शिक्षक सेवा आयोगमा तत्काल पदाधिकारी नियुक्ति हुनुपर्ने माग सङ्घले गरेको छ ।

जस्तोसुकै कठिन अवस्थामा पनि शिक्षा क्षेत्रलाई सुरक्षित गर्दै पठनपाठन कार्य नियमित रूपमा सञ्चालन गर्नका लागि दीर्घकालीन सोचका साथ आधुनिक प्रविधियुक्त पूर्वाधारयुक्त विद्यालय, प्रविधिमैत्री कक्षा कोठा र प्रविधियुक्त प्रशिक्षित शिक्षकको व्यवस्था हुनुपर्नेमा सङ्घले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *