ओली नीतिले कूटनीतिमा अविश्वास

काठमाडौं, साउन ८ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली २०७४ फागुन ३ मा दोस्रो पटक झन्डै दुईतिहाइ मतसहित प्रधानमन्त्रीमा नियुक्त भएपछि नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा कतिपय सम्झन लायक काम भए। त्यसबीचमा लामो समयपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सबैभन्दा महत्वपूर्ण उपलब्धि रह्यो।

त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको धार्मिक यात्रा, लामो समयको अन्तरालपछि अमेरिकी विदेशमन्त्रीको निमन्त्रणा र दुई देशका विदेशमन्त्रीस्तरीय भेट, विभिन्न महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थितिलगायतका कारणले तत्कालीन प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दाबी गरेजस्तै नेपाल अन्तर्राष्ट्रिय मञ्चहरूमा सुनिन थालेको हो कि भन्ने महसुस हुन थालेको थियो।

त्यसबीचमा सरकारले राजदूत नियुक्तिका लागि मापदण्ड बनाउनेलगायतका कतिपय प्रशंसनीय काम पनि गरेको थियो। बिहानीले दिनको संकेत गर्छ भनेजस्तै सुरुमा ओली नेतृत्वको सरकारले कूटनीतिक क्षेत्रमा सुधारको संकेत गरेको थियो।

तर समय बित्दै जाँदा आन्तरिक राजनीतिक खिचातानीसँगै अन्तर्राष्ट्रिय सम्बन्धमा पनि त्यसको असर पर्न थाल्यो। कूटनीतिक मामिलाका जानकार ओलीले आन्तरिक राजनीतिको जोडघटाउमा समेत कूटनीतिलाई जोड्न खोजेका कारण छिमेकी मुलुक तथा अन्य मित्र राष्ट्रसँगको सम्बन्धमा उतारचढाब आएको बताउँछन्। परराष्ट्र मामिलाका जानकार डा। दिनेश भट्टराई निवर्तमान प्रधानमन्त्री ओलीले परराष्ट्रनीतिमा राजनीतिक अवसरवादिता देखाएका कारण कूटनीतिक क्षेत्रमा अविश्वास सिर्जना भएको बताउँछन्।

प्रधानमन्त्रीका रूपमा ओलीको बोलीको अडान नहुँदा र दोधारे चरित्रका कारण छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायले विश्वास गर्ने अवस्था नभएको उनको विश्लेषण छ। ‘उहाँ ९ओली० ले परराष्ट्रनीतिमा देखाएको राजनीतिक अवसरवादिता र दोधारे चरित्रका कारण सबैतर्फ शंकाको वातावरण भयो,’ उनले भने। ओलीले आन्तरिक शक्ति बढाउन वैदेशिक शक्तिलाई दुरूपयोग गर्दा समस्या भएको भट्टराईको तर्क छ। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *