करीब ५५ खर्ब बराबरको मालवस्तु भीसीटीएस प्रणालीमा

काठमाडौं। मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस) मा करीब ५५ खर्ब बराबरको मालवस्तु प्रविष्ट गरी कारोबार भएको छ ।

भन्सार छलेर आयात गरिने मालवस्तु नियन्त्रण गरी वैध कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले ३ वर्षअघि सरकारले लागू गरेको भीसीटीएस प्रणालीमार्फत अहिलेसम्म  ५४ खर्ब ८९ अर्ब कारोबार भएको हो ।

यो प्रणाली कार्यान्वयन गर्दै आएको राजस्व अनुसन्धान विभागका अनुसार आर्थिक वर्ष २०७७ असार मसान्तसम्ममा २१ खर्ब ८३ अर्बको मालवस्तुको कारोबार प्रविष्ट भएको थियो । त्यसयता गत आर्थिक वर्ष अर्थात् २०७८ को असारसम्ममा मात्रै ३६ खर्ब १६ अर्बको कारोबार प्रविष्ट भएको विभागको तथ्यांकले देखाउँछ ।

अवैध कारोवारमा संलग्न व्यक्तिलाई कानूनी कठघरमा उभ्याउँदै वैध कारोबारबाट करको दायरा बढाउन सरकारले ल्याएको यो प्रणालीमा छोटो समयमा नै प्रभावकारी हिसाबले कार्यान्वयनमा ल्याउन सकिएको राजस्व अनुसन्धान विभागका अधिकारीहरू बताउँछन् ।

कारोबार रकम मात्रै नभई पछिल्लो समय भीसीटीएस प्रणाली प्रयोग गर्ने प्रयोगकर्ताहरू समेत बढ्दै गएका छन् । ३ वर्षको अवधिमा यो प्रणाली प्रयोगकर्ताको संख्या १ लाख २८ हजार ८ सय पुगेको छ । यो अवधिमा १ करोड ८१ लाख ७ हजार बिलहरू भीसीटीएस प्रणालीमा गत असारसम्ममा प्रविष्ट भएको राजस्व अनुसन्धान विभागको तथ्यांकले देखाउँछ ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक रामप्रसाद आचार्यले भीसीटीएस प्रणालीलाई छोटो अवधिमा नै प्रभावकारी कार्यान्वयनमा लैजान सफल भएको बताउँछन् ।

‘आयातकर्ताहरूको पूर्ण सहयोगका कारण अवैध कारोबारलाई धेरै हदसम्म नियन्त्रण गर्न हामी सफल भएका छौं,’ उनले भने । आचार्यका अनुसार गतवर्षको बन्दाबन्दीमा भन्दा यसपालिको निषेधाज्ञामा धेरै कारोबारलाई विभागले भीसीटीएस प्रणालीमा ल्याउन सफल भएको छ । यसले अवैध कारोबारी नियन्त्रण हुँदै गएको विभागको ठम्याइ छ ।

राजस्व अनुसन्धान विभागले राजस्व छली र विदेशी विनिमय अपचलमा निगरानी गर्दै आएको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अर्थ मन्त्रालय मातहत रहेको यो विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमातहत ल्याई भीसीटीएस प्रणाली कडाइका साथ लागू गरेको थियो ।

यो प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन हुनुको श्रेय तत्कालीन अर्थमन्त्री डा। युवराज खतिवडा र तत्कालीन राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीमा जाने गरेको छ ।गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *