एजेन्सी । स्पेनिस क्लब रियल म्याड्रिड हाल नयाँ सिजनको तयारीमा रहेको छ । जिनेजिन जिदानले राजीनामा दिएपछि कार्लो एन्सेलोट्टीलाई क्लबमा भित्र्याएको म्याड्रिडले उपलब्ध भएका खेलाडीलाई लिएर प्रशिक्षण गरिरहेको छ । युरोकप र कोपा अमेरिकापछि छुट्टिमा रहेका केही खेलाडी प्रशिक्षण उपस्थित भैसकेका छन् भने केही खेलाडी केही दिनमा फर्किनेछन् ।
नयाँ सिजनको शुरुवात गर्नु अगाडि रियल म्याड्रिड केही खेलाडीलाई बेच्न चाहन्छ । कार्लो एन्सेलोट्टीको नजरमा नपरेका केहि खेलाडीलाई बेच्दै क्लब समूह सानो बनाउने सुरमा छ । एन्सेलोट्टी आफैपनि सानो समूहमा काम गर्न रुचाउँछन् । पहिलो टिमको कम्तिमा २३ खेलाडीको समूह बनाउँदै आवश्यक परेको खण्डमा क्यास्टिलाका युवा खेलाडीलाई टोलीमा समावेश गर्ने योजनामा एन्सेलोट्टी छन् ।
युवा खेलाडी ब्राहिम डियाज २ वर्षको लोनमा एसी मिलान पुगेपछि हाल रियल म्याड्रिडको पहिलो टिममा २८ खेलाडी रहेका छन् । लुका जोभिक, ग्यारेथ बेल, इस्को, डानी सेबालोस र मारियानोमाथि राम्रो अफर आएमा उनीहरुलाई बेच्न क्लब पछि हट्न चाहान्न । तर गत सिजन जिदानको कार्यकालमा खेल्ने समय नपाएका केही खेलाडीहरुले भने एन्सेलोट्टीको मनपनि जितेका छन् ।
युवा फर्वार्ड लुका जोभिकपनि क्लबमै रहेर आफ्नो स्थानको लागि भिड्न चाहन्छ्न् । तर क्लब अझैपनि जोभिकलाई बेच्ने वा लोनमा पठाउने दाउमा छ । लोनका भित्र्याउन इटालियन क्लब एसी मिलानपनि इच्छुक देखिएको छ । २३ वर्षिय फर्वार्ड दुई वर्ष अगाडि ७० मिलियन युरोमा म्याड्रिड आएका थिए ।
यता म्याड्रिडमा बेलको भविष्यपनि अनिश्चित रहेको छ । खेलाडी र उनका एजेन्टलेपनि बेल म्याड्रिडमै बस्च चाहेको कुरा जनाएका छ्न् । यस्तै प्रशिक्षक एन्सेलोट्टीलेपनि बेल राम्रो फर्ममा रहेको खण्डमा उनलाई टोलीमा समावेश गर्ने जनाएका छन् । तर बेल गैर यूरोपेली खेलाडी भएका कारण उनलाई टोलीमा स्थान छैन । बेल टोलीमा समावेश हुन एडेर मिलिटाओ, भिनिसियस जुनियर र रोड्रिगो मध्य एक जनाले क्लब छोड्नुपर्नेछ ।
गत सिजन जिदानबाट खल्ने समय कम पाएका इस्कोपनि क्लब छोड्ने मनसायमा थिए तर उनले प्रि-सिजनमा एन्सेलोट्टीको मन भने जितेका छन् । त्यसैले उनले दोस्रो मौका पाउने सम्भावना रहेको छ । अर्का मिडफिल्डर डानी सेबालोसपनि थप अर्को सिजनको लागि लोनमा जाने योजनामा छन् । हाल ओलम्पिकको तयारीमा रहेका सेबालोस म्याड्रिड फर्केपछि आफ्नो भविष्यको बारेमा प्रशिक्षकसँग कुरा गर्नेछन् ।
क्लबका पूर्वकप्तान सेर्जियो रोमसले क्लब छोडेसगै उनका डिफेन्डिङ जोडी राफायल भरानलेपनि म्याड्रिड छोड्ने कुराले ट्रान्सफर बजार राम्रै तातेको छ । भरानको इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड जाने सम्भावना रहेको छ। जसको कारण जेसस भल्लेजो लोनबाट क्लबमा फर्किनेछन् । उनी चौथो रोजाइका डिफेन्डरको रुपमा क्लबमा रहनेछन् अन्यथा एन्सेलोट्टी युवा खेलाडी भेक्टोर चस्टमा भर पर्नेछन् ।