USAID

११ महीनामा थप साढे ४३ हजार महिलाले पाए सहुलियत कर्जा


काठमाडौं, साउन ६। ब्याज अनुदानको सहुलियतपूर्ण कर्जा कार्यक्रममध्ये सबैभन्दा बढी महिला उद्यमीमा प्रवाह भएको छ । बैंक तथा वित्तीय संस्थाबाट आर्थिक वर्ष (आव) २०७७÷७८ को ११ महीनामा महिला उद्यमशीलता कर्जा लिने महिलाको संख्या ४३ हजार ८ सय ३१ थपिएको छ ।

यस शीर्षकमा कर्जा लिने महिलाको संख्या जेठ मसान्तसम्म कुल ५० हजार ५ सय १३ जना पुगेको छ । यस शीर्षकमा गत जेठसम्ममा ४४ अर्ब ६६ करोड २० लाख रूपैयाँ बराबरको कर्जा बक्यौता रहेको छ । अघिल्लो आवको असारमा ६ हजार ६ सय ८२ जना महिलाले मात्रै यो कर्जा उपयोग गरेका थिए । तर, पछिल्ला प्रत्येक महीना भने यस्तो संख्या थपिँदै गएको छ ।

महिला उद्यमशीलता शीर्षकमा विनाधितो ६ प्रतिशत ब्याज अनुदानमा सहुलियतपूर्ण कर्जा लिन पाउने व्यवस्था छ । यो कर्जा प्रतिव्यक्ति १५ लाखसम्म लिन पाइन्छ । यस्तो कर्जा विनाधितो लिन पाउने भए पनि बैंक तथा वित्तीय संस्थाहरूले धितोमा दिन रुचाउने गरेको बताउँछन् । विनाधितोमा जोखिम बढी हुने भएकाले बैंकहरूले धितोमा सहुलियत दिन भने तत्पर रहेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल बताउँछन् ।

महिला उद्यमशीलतापछि व्यावसायिक कृषि तथा पशुपक्षी व्यवसाय शीर्षकमा कर्जा उपयोग गर्ने ऋणीको संख्या बढी देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार जेठसम्म कुल ४४ हजार ७ जनाले यमे कर्जा लिएका छन् । गत आवको ११ महीनामा मात्रै यस्तो ग्राहक १९ हजार २ सय ४४ जना थपिएका छन् । यस शीर्षकमा  १ खर्ब २ अर्ब ८३ करोड ३९ लाख बराबरको कर्जा बक्यौता रहेको छ ।

सहुलियत कर्जामा सबैभन्दा कम सीटीईभीटीबाट अनुमति लिएका संस्थाबाट तालीम लिनेहरू रहेका छन् । यस्तो तालीम लिने २ जनाले मात्रै ऋण लिएका छन् । उनीहरूको ३ लाख ७० हजारको मात्रै बक्यौता रहेको छ । शीर्षकमा आवश्यक नठानेर शायद कमै मान्छेको माग आउने गरेकाले पनि यस्तो कर्जा प्रवाह नभएको बैंकरहरू बताउँछन् । यसपछि कम कर्जा युवा स्वरोजगार कर्जामा रहेको छ । यसमा ३ जना ऋणीले मात्र उपयोग गरेका छन् । उनीहरूको साढे ११ लाख बक्यौता रहेको छ ।

सहुलियत कार्यक्रमअन्तर्गत ‘शिक्षित युवा स्वरोजगार कर्जा’ हालसम्म १ सय ४१ जना ऋणीले मात्र उपयोग गरेका छन् । उनीहरूको ६ करोड २६ लाख रुपैयाँ बराबरको ऋण बक्यौता रहेको तथ्यांकले देखाउँछ । गत आवको ११ महीनामा भने यस्तो कर्जा उपयोग गर्ने ऋणी ७६ जना थपिएका छन् ।

यसमा प्रमाणपत्र धितो राखेर विद्यार्थीले कर्जा लिन पाउने भए पनि बैंकरहरूले नपत्याएको भन्ने गुनासो सुनिन्छ । बैंकरहरूले पनि शैक्षिक प्रमाणपत्र धितो राखेर विद्यार्थीले कर्जा दिँदा जोखिम हुनसक्ने बताउँछन् । चालू आर्थिक वर्षको बजेटले शैक्षिक प्रमाणपत्र धितोमा २५ लाखसम्मको कर्जा दिने घोषणा गरेको छ । तर, यस्तो ऋणमा उत्कृष्ट प्रोजेक्ट योजना र विश्वास नभएसम्म पत्याउन गाह्रो हुने संघका अध्यक्ष दाहाल बताउँछन् । ‘विदेशबाट फर्केका युवा परियोजना कर्जा’ शीर्षकमा ७ सय ९१ जनाले कर्जा उपयोग गरेका छन् । उक्त संख्याका ऋणीको रू। ५७ करोड ८२ लाखको ऋण बक्यौता रहेको छ । शिक्षित युवा स्वरोजगार कर्जा रू। ७ लाखसम्म, विदेशबाट फर्केका युवा परियोजना कर्जा रू। १० लाखसम्म लिन पाइने व्यवस्था छ । आर्थिक अभियान दैनिकबाट


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *