समायोजनका नाममा जथाभावी क्रियाशील सदस्यता नदिन कांग्रेसका १० जना केन्द्रीय सदस्यको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका १० जना केन्द्रीय सदस्यले समायोजनका नाममा जथाभावी क्रियाशील सदस्यता नदिन आग्रह गरेका छन् ।

मंगलबार केन्द्रीय सदस्यहरु डा. चन्द्र भण्डारी, धनराज गरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, गुरुराज घिमिरे, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले संयुक्त वक्तव्य जारी गरी जथाभावी क्रियाशील सदस्यता वितरण गर्दा पार्टीको मर्ममाथि प्रहार भइरहेको बताएका छन् ।

वक्तव्यमा भनिएको छ, ‘समायोजनका नाममा पार्टी संरचना कब्जा गर्ने उद्देश्यले निर्धारित प्रक्रिया बाहिरबाट वितरण गरिएका क्रियाशील सदस्यताले पार्टीको मर्ममाथि नैं प्रहार गरेको छ र आफ्नो सर्वस्व सुम्पेका साथीहरूको आत्मसम्मानमा प्रहार गरेको छ । यसलाई तुरुन्त रोक्नु पर्दछ ।’ पार्टीमा नयाँ सदस्यहरुको आगमन हुनु आवश्यक भएपनि कांग्रेसका पुराना कार्यकर्तालाई विस्थापित गर्नेगरी समायोजनका नाममा विधि विपरीत बाँडिएका सदस्यताले पार्टीको मर्ममाथि प्रहार हुने उनीहरुले बताएका छन् ।

क्रियाशील सदस्यता छानबिन समिति र समायोजन समितिले पार्टीको लोकतान्त्रिक प्रतिष्ठा र छविको जगेर्ना गर्दै उत्पन्न समस्याहरुको विधिसंगत र तार्किक समाधान गर्नुपर्ने उनीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *