कांग्रेसको १४ औँ महाधिवेशनमा ‘डिजिटल भोटिङ’को प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागले पार्टीको १४ औँ महाधिवेशनमा डिजिटल भोटिङ गर्न प्रस्ताव गरेको छ । पार्टी प्रवक्ता समेत रहेका विश्वप्रकाश शर्मा प्रमुख रहेको विभागको गएको असार २४ र २५ गते बसेको बैठकले गरेको निर्णय मंगलबार सार्वजनिक गरिएको हो । निर्णय सार्वजनिक गर्दै विभागले कोरोना महामारीको अवस्थामा डिजिटल भोटिङको प्रस्ताव गरेको हो ।

विभागले त्यसको प्रस्ताव केन्द्रीय समितिमा पठाउन लागेको छ । विभागको निर्णयमा भनिएको छ, ‘कोरोना महामारी न्यून भएर महाधिवेशन भौतिक रुपमै आयोजना गर्न सकिने आशाका बाबजुद विभागले ‘डिजिटल भोटिङ’को आफ्नै आन्तरिक प्रविधि विकास र सुनिश्चित गरेको छ । केन्द्रीय समितिले जरुरी ठहर गरेर निर्णय गरेका खण्डमा शून्यबाट सुरु गर्नु नपर्ने गरी विकास गरिएको प्रविधि तत्काल आवश्यक नपर्दा भविष्यका लागि पार्टीसँग प्रविधिको सम्पत्ति र सक्षमता सुरक्षित हुने विश्वास विभागले लिएको छ ।’

विभागले ७७ जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशनका प्रतिनिधिले मतदान गर्न सक्ने व्यवस्था गरिएको प्रविधिमार्फत १४औँ महाधिवेशनमै केन्द्र र सात प्रदेशको निर्वाचनसम्बन्धी सबै प्रक्रिया सम्पन्न गर्न सकिने क्षमता भएको जनाएको छ । नेपाली कांग्रेसले कोरोना महामारी रहिरहेमा प्रविधिको प्रयोग गरेर महाधिवेशन गर्न सकिने गरी विकल्प तयार पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *