काठमाडौं, साउन ४ । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको अवस्थामा कोभिड–१९ बीमालेख बन्द गरिएको छ । नयाँ आर्थिक वर्ष शुरू भएसँगै गत साउन १ गतेदेखि कोरोना बीमाको कारोबार बन्द गरिएको हो ।
अब कोरोना बीमाको पोलिसी विक्री हुने छैनन् । साथै, साउन १ गतेयता बीमा दाबीको आवेदनसमेत नलिने गरी कोरोना बीमा बन्द गरिएको छ । अब असार मसान्तसम्म प्राप्त बीमा दाबी आवेदनको भुक्तानी मात्र गरिने समितिको भनाइ छ ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कोरोना बीमाको कारोबार बन्द गरिएको बताए । ‘नयाँ आर्थिक वर्ष शुरू भएसँगै कोरोना बीमाको कारोबार पनि बन्द भएको छ । अब यससम्बन्धी बीमालेखको विक्री हुँदैन । साथै, बीमा दाबी लिन पनि बन्द गरिएको छ,’ उनले भने, ‘अब असार मसान्तसम्म प्राप्त दाबी आवेदनको मात्र आवश्यक प्रक्रिया पूरा गरेर भुक्तानी दिनेछौं ।’
गत आवसम्म मात्र सञ्चालन गर्नेगरी उक्त बीमा सेवा ल्याइएकाले यो आवदेखि बन्द गरिएको उनको भनाइ छ । कोरोना बीमासम्बन्धी मापदण्डमा पनि गत आवको असारसम्म मात्रै कोरोना बीमा सञ्चालन गरिने रहेको पौडेलले बताए ।
बीमा समितिले २०७७ वैशाखदेखि कोभिड–१९ बीमालेख जारी गरेर बीमा कम्पनीहरूलाई यसको कारोबार गर्न निर्देशन दिएको थियो । त्यसपछि २० निर्जीवन बीमा कम्पनीहरूले लघु बीमा पुलमार्फत संयुक्त रूपमा उक्त बीमाको कारोबार गर्दै आएका थिए ।
नयाँ आर्थिक वर्षमा पनि यस बीमा सेवालाई निरन्तरता दिन सकिन्थ्यो । तर, त्यस विषयमा कुनै निर्णय नभएको समितिको भनाइ छ । सरकारले नै सहयोग गर्ने नीति ल्याएमा मात्र कोरोना बीमा सञ्चालन गर्ने समितिको भनाइ थियो । तर, तत्कालीन सरकारले जेठ १५ गते ल्याएको बजेटमा कोरोना बीमासम्बन्धी कुनै सम्बोधन भएन । त्यसपछि कोरोना बीमा पनि बन्द गर्न बाध्य भइएको हो ।
कोरोना बीमा बन्द भइसक्दा पनि यसको दाबी भुक्तानी भने अझै अन्योलमा परेको छ । आर्थिक अभियान दैनिकबाट