जनकपुर–जयनगर रेल्वेको ‘ट्रयाक स्पीड’ परीक्षण आज

काठमाडौं। लामो समय देखि सञ्चालनको प्रतीक्षामा रहेको जनकपुर–जयनगर रेल्वे सेवाको ‘ट्रयाक स्पीड’ परीक्षण आज हुने भएको छ । रेल खरिद गरी ल्याइएको दश महिनापछि ‘ट्रयाक स्पीड’ परीक्षण गर्न लागिएको हो ।,नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईका अनुसार जनकपुर–जयनगर रेल्वे सेवा संचालनका लागि रेल्वे ट्रयाकमा आज ‘ट्रयाक स्पीड’ परीक्षणको तयारी भएको छ ।

परीक्षणका लागि सम्पूर्ण तयारी पूरा भइसकेको बताउँदै उनले भारतको इस्ट–सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ रेलद्वारा ‘ट्रयाक स्पीड’ परीक्षण गरिने जनाए। ‘ट्रयाक स्पीड’ परीक्षण रेल सेवा संचालन गर्नु पूर्वको महत्वपूर्ण प्रक्रिया रहेको उनको भनाई छ । प्रतिघण्टा ६० किलोमिटरको गतिमा भारतको जयनगर रेल्वे स्टेशनबाट रेल जनकपुर आइपुग्ने छ र जनकपुरबाट सो रेल प्रतिघण्टा १२० किलोमिटरको गतिमा पुनः जयनगर फर्किने छ ।

परीक्षणको क्रममा रेल जयनगरबाट जनकपुर आउँदाजाँदा रेल्वे ट्रयाकमा कुनै समस्या नआएको अवस्थामा उक्त भारतीय रेल्वे कम्पनीले जनकपुर–जयनगर रेल्वे ट्रयाक रेल सेवा संचालनको लागि उपयुक्त र सुरक्षित रहेको भन्दै नेपाल रेल्वे कम्पनी लिमिटेडलाई प्रमाणपत्र हस्तान्तरण गर्ने छन् ।

आज रेल्वे ट्रयाक वरपर चौपाया, साइकल, मोटरसाइकल, बालबच्चा नछोड्न सर्वसाधारणका लागि सूचनासमेत सार्वजनिक गरिएको छ । सरकारले जिटुजी (गभर्मेन्ट टू गभर्मेन्ट) प्रक्रिया मार्फत ८४ करोड ६५ लाख ९५ हजार रुपियाँमा भारतसँग खरिद गरेको दुईवटा रेल गत वर्ष असोज २ गते जनकपुर रेल्वे स्टेशनमा आइपुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *