अस्तव्यवस्त काठमाडौंका कोभिड खोप केन्द्र

काठमाडौं। छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा बिहीबार बिहान ४ बजेदेखि जेष्ठ नागरिकहरू आँखा मिच्दै लाइनमा बस्न पुगे। कोही आफ्नो स्थान सुरक्षित गर्न झोला राख्न व्यस्त थिए। एकातर्फ कोभिड–१९ को उच्च जोखिमको त्रास छ भने अर्को तर्फ खोप नपाउने चिन्ता सर्वसाधारणमा छ। त्यही भएर आफूहरू बिहानैदेखि लाइनमा बस्नु परेको लाइनमा बसेकाहरूको गुनासो थियो। बुधबार छाउनीदेखि स्वयंभूको भगवानपाउन भन्दा पनि माथिसम्म लाइन बस्दा समेत खोप लगाउने पालो नपाउनु तितो यर्थात भोगेकाहरू पनि लाइनमै बसेका भेटिएका थिए।

‘बुधबार बिहान ११ बजेदेखि लाइन बसेँ साँझ ५ बजेसम्म पनि पालो आएन भिड उस्तै थियो। समाजिक दूरी कायम थिएन। त्यही भएर आज म बिहान ४ बजेदेखि आफ्नो ठाउँ सुरक्षित गर्न लाइनमा बस्न आइपुगेको हुँ,’ डल्लुकी सानुमैया महर्जनले भनिन्, ‘लाइनमा सबेरै आउनु पर्ने चिन्ताले रातभरि निन्द्रनै लागेन। ४ बजेनै लाइनमा लागेको छु।’ सरकारले खोपमा उचित व्यवस्थापन गर्न नसकेको कारण सर्वसाधारणहरूले दुःख पाएको वाफलका सुरेश श्रेष्ठको गुनासो छ। सुरेश पनि बुधबार खोपका लागि लाइनमा बसेको र बिहीबार बिहानै लाइनमा आएर बसेको बताए।

कोरोना उच्च जोखिमबाट नागरिकलाई सुरक्षित बनाउन सरकारले खोपको व्यवस्थापन गरे पनि सेवाग्राहीलाई उपलब्ध गराउने खोप केन्द्रको उचित व्यवस्थापन गर्न नसकेको ५९ वर्षीया हिराकाजी महर्जनको गुनासो छ। देशमा स्थानीय सरकार भएकाले केन्द्रभन्दा स्थानीय सरकारलाईनै जिम्मेवारी दिएर वडाबाटै व्यवस्थापन हुनुपर्नेमा जोड दिइन्। ‘अब त वडाहरूबाटै खोपको व्यवस्थापन गर्दा सबैले सहज रूपमा पाउन सक्छन,’ उनले भने,‘यस्तो वृद्धावृद्धलाई एकाबिहानै भोकै, प्यासै लाइनमा बसेर सास्ती दिनु दुःखद् कुरा हो। यो त खोपको गाईजात्रानै हो।’

छोउनीको अस्पताल मात्र होइन टेकु सरुवा रोग अस्पताल, सिभिल अस्पताल बानेश्वर, नेपाल प्रहरी अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, जनमैत्री अस्पताल बालाजुलगायतमा पनि अवस्था उस्तै रहेको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीर अधिकारीका अनुसार स्वास्थ्य मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा खोप केन्द्र समन्वय समितिनै गठन गरी खोप केन्द्र र खोप व्यवस्थापन गर्ने जिम्मेवारी दिएको बताए। उनले समितिमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखलाई सदस्यसचिव राखिएको तर पनि व्यवस्थापन हुन नसकेको गुनासो मन्त्रालयमा आएको बताए। उनका अनुसार बुधबारसम्म २६ लाख २१ हजार ४ सय ७६ ले पहिलो डोज खोप लगाएका छन् । सोही दिन ११ लाख ८ हजार ८ सय ६८ ले दोस्रो डोजको खोप लगाएको मन्त्रालयको तथ्यांक छ। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *