भानु तिम्रो सम्झनामा…

नारायण ढुंगाना, काठमाडौं । नेपाली साहित्यको जग बसाल्ने प्राथमिक कालका कवि भानुभक्त आचार्य भक्तिधाराका कवि हुन् । आदिकवि उपमा पाएका उनको मंगलबार २०८ औँ जन्मजयन्ती विश्वभर विभिन्न कार्यक्रमका साथ कृतित्व र व्यक्तित्वको बारेमा चर्चा गर्दै मनाइएको छ । ठाउँठाउँमा उहाँका रचना वाचनसहितका कार्यक्रम भएका छन् ।

विसं १८७१ असार २९ गते आइतबार तनहुँ जिल्लाको चुँदीरम्घामा जन्मिएका आदिकवि भानुभक्तले नेपाली भाषा, साहित्य, संस्कृतको एकतामा ठूलो योगदान गरेको अग्रज साहित्यकार स्मरण गर्छन् । अध्यात्म रामायणबाट नेपालीमा अनुवादित रामायण उनको महत्वपूर्ण र चर्चित कृति हो ।

हुन त भानुभक्त अघि पनि कवि नभएका होइनन् । सुवानन्ददासबाट कविताको प्रारम्भ भएको मानिन्छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आज आदिकविको व्यक्तित्व र कृतित्वका बारेमा भएको प्रवचन तथा रचना वाचनका क्रममा प्रतिष्ठानका प्रज्ञा परिषद् सदस्य एवं काव्य विभाग प्रमुख हेमनाथ पौडेल कतिपय कविले हिन्दी र तत्सम् शब्दलाई बढी प्रयोग गरेको परिस्थितिमा भानुभक्तले नेपाली भाषाभित्रैबाट कविताको सिर्जना गरेकैले आदिकविको रूपमा प्रसिद्धी पाएको उल्लेख गर्छन् ।

उनका अनुसार नेपाली भाषालाई समृद्ध बनाउन र नेपाली भाषाको सहजताभित्रैबाट जनजिब्रोमा पुर्याउने काम भानुभक्तले गरेका छन् । भानुभक्तका ‘रामायण’ ‘भक्तमाला’, ‘रामगीता’, ‘प्रश्नोत्तर’ ‘वधुशिक्षा’लगायत तीन दर्जन फुटकर कविता छन् ।

प्रश्नोत्तर र रामगीता भानुभक्तका अनुदिन कृति हुन् । भक्तमाला र वधुशिक्षा मौलिक कृति हुन् । पौडेल रामायण उपजिव्य ग्रन्थ हो । कसैले त्यसलाई अनुवाद त कसैले मौलिक कृति तथा कसैल मौलिकता र अनुवादको दोसाँधको कृति भन्ने गरेको उनले सुनाए ।

यसपालि भने भानुजयन्ती विशेष कार्यक्रम फरकरुपमा प्रस्तुत भयो । कोभिड–१९ का कारण भर्चुअलका माध्यमबाट सातै प्रदेश र विदेशमा रहेका साहित्यनुरागीबीच पनि पुग्यो ।

भानुको सम्झनामा प्रतिष्ठानका बालसाहित्य विभाग प्रमुख डा देवी नेपालसहित अमेरिकाबाट सरु गुरागाईं, म्यान्माबाट हुताशन पाखेरेल, भारतको सिक्किमबाट अभिषेक कोइरालाले भानुभक्तीय रचना वाचन गरेका थिए ।

यस्तै प्रदेश १ बाट दीपा भट्टराई, प्रदेश २ बाट सरु बस्नेत, वाग्मती प्रदेशबाट लोचन भट्टराई, गण्डकीबाट शिव त्रिपाठी, लुम्बिनी प्रदेशबाट टङ्क पन्थ, कर्णाली प्रदेशबाट सिर्जना शर्मा र सुदूरपश्चिमबाट कविराज भट्टले रचना वाचन गरेका थिए । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक जगतप्रसाद उपाध्याय नेपाल देशको भौगोलिक एकीकरण गर्ने पृथ्वीनारायण शाहजस्तै नेपाली भाषालाई एकीकृत गर्ने काम भानुभक्तले गरेकाले उनलाई नेपाली जातिको एकीकरणका नायक मान्नुपर्ने बताउँछन् ।

हुन त १४औँ/१५औँ सताब्दीमा पनि कतिताहरू सशक्त नभएका होइनन् । कविताको इतिहास अध्ययनमा त्यहाँसम्म पुग्नसक्नु पर्छ तर समालोचकले निरुपण गरेअनुसार कला, विचार, सन्देश र बोधगम्यताका दृष्टिले भानुभक्तले जत्तिको महाकाव्यस्तरको सशक्त रचना अरुले गर्न सकेका छैनन् । त्यही कवित्वपूर्ण रचना भानुभक्तबाटै प्रारम्भ भएकाले उनलाई आदिकवि मान्नुपर्छ भन्ने निष्कर्षका साथ आदिकवि मान्दै आइएको उपाध्यायको भनाइ छ ।

उनका रचना नेपालीको मन मर्मलाई बुझ्ने खालको छ । उनका रचना राष्ट्रप्रेम, भातृत्व प्रेम, संस्कृति प्रेम छ, सामाजिक जनजीवनसँग मेल खाने खालको छ । वाल्मीकिको देशभक्तिको भावना भानुभक्तले रामायणका माध्यमबाट नेपालीको मनमनमा पुर्याउने काम गरेको साहित्यकारले स्मरण गरेका छन् । भानुभक्तमा विश्वचेतना जागृत भएकाले विश्वतरको कविता पनि रचना गरेका छन् । प्रकृतिप्रेमका पनि थुप्रै कविता छन् ।

कसलाई हो सत्रु भनेर जान्नु
आफ्ना दशै इन्द्रीय शत्रु मान्नु
कसलाई मित्र भनेर मान्नु
जित्या तिनै इन्द्रीय मित्र मान्नु

शत्रु पनि आफैँ, मित्रु पनि आफैँ । आफ्ना इन्द्रीय लाई नियन्त्रण गर्न सकिएन भने त्यहीबाट शत्रुताको विकास हुन्छ भनेर भानुभक्तले दर्शनको सन्देशसमेत उक्त कवितामार्फत दिन खोजेका छन् ।

दरिद्र नाउँ नरमा छ कस्को
विशाल तृष्णा घरमा छ जस्को

कविताले तिर्खा, भोग अतृप्तिले मान्छेलाई दरिद्र बनाउने कुरा बताएको छ । यस्तै उद्यमशिलताको महत्वबारे पनि भानुभक्तको रचनामा सशक्त देखिन्छ …

जिउँदै मर्याको भनी नाउँ कस्को
उद्यम विना वित्दछ काल जस्को

व्यङ्ग्यात्मक चेतना पनि भानुभक्तको रचनामा छ । जब जेलमा परे । त्यो कारागारमा बस्दाको पीडा व्यङ्ग्यात्मक ढङ्गले ससंख्य बनाएका छन् । नेपाली प्रशासनको विषयमा समेत उनले तिखो प्रहार गरेका छन् । उक्त कविताको सार अहिले पनि सान्दर्भिक लाग्छ । दिनदिनै कार्यालय जाँदा आज पनि काम हुँदैन, भोलि पनि काम हुँदैन । त्यसैलाई व्यङ्ग्य गरिएको कविता भोलिवाद प्रवृत्तिमाथि निर्मम प्रहार गरिएको छ ।

विन्ती डिठ्ठा विचारीसित म कति गरुँ
चुप रहन्छन् नबोली,
बोल्छन् त ख्याल गर्या झैँ
अनि पछि दिनदिन भन्दछन् भोलिभोलि,
कि त सक्दिन भन्नु कि त छिनीदिनु काम
क्यान भन्छन् यी भोलि

यति मात्रै होइन । आदिकवि भानुभक्तले निम्न वर्गका मान्छेबाट पनि प्रेरणा लिएर अमर रहनुपर्छ भन्ने सन्देश घाँसी कविताले स्पष्ट पारेको उपाध्याय बताउँछन् ।

भर्जन्म घाँसतिर मन दिइ धन कमायो,
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्री घरको तर बुद्धि कस्तो,
मो भानुभक्त धनी भै किन आज यस्तो,

यस्तै थुप्रै रचना मनमनमा अझै झुण्डिएर रहेको छ । त्यसैले पनि भानुभक्तको सम्झना अझै भव्यरूपमा गर्नुपर्नेमा श्रष्टाको धारणा छ ।

प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङ नेपालीलाई एकताको सुत्रमा बाँध्ने काम भानुभक्तले गरेको बताउँछन् । रामायण उनले रचना नगरे पनि नेपाली भाषामा भावानुवाद गरेर उहाँले गाउँघर, खोलानाला, चौतारी, भञ्ज्याङमा भानुभक्तीय रामायणका श्लोक गुनगुनाउँदै हिँड्ने वातावरण सिर्जना गरेको गुरुङ स्मरण गरे ।

विश्वमा जहाँजहाँ नेपाली छन् त्यहाँ भानुभक्तको श्लोक रहेको छ । नेपाली भाषा, धर्म, संस्कृति र चलनचल्तीको बारेमा छलफल गर्ने पर्वको रुपमा भानुजयन्ती विकास भएकाले त्यही परिभेषमा मनाउन सुझाव दिन्छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली भाषा र संस्कृतिका नायक भानुभक्तको जन्मयजन्तीको आजको दिन नेपाली वाङ्मयको क्षेत्रका चिन्तक र श्रष्टाका लागि महत्वपूर्ण भएको बताए । उनले नेपाली भाषा, साहित्य र संस्कृतिको पहिचान दिलाउन र पृष्ठभूमि तयार पार्ने काम भानुभक्तले गरेकाले विर्सनै नहुने बताए ।

भानुजयन्तीको अवसरमा विभिन्न मुलुकमा रहेका अभियन्तालाई भेला गरेर राष्ट्रिय सम्मेलन गर्ने सोच कोभिडका कारण सफल हुन नसकेकामा उनले दुःख व्यक्त गरे । उनले भानुकै सम्झनामा गत वर्षदेखि ‘प्रज्ञा भानु अन्तरदेशीय नेपाली साहित्य पुरस्कार’ स्थापना गरिएको जानकारी दिए । उनका अनुसार यो सालबाट विशिष्ट कर्मचारी पुरस्कार थालनी गरेर कर्मचारीको मनोबल बढाउन थालिएको जानकारी दिए ।

प्रतिष्ठानको प्राज्ञसभा सदस्य तथा सञ्चार संयोजक शशी लुमुम्बुले भानुभक्तको सशक्त कविता भएकैले अहिले पनि जनवोलीमा रहेको र समयसान्दर्भिक रहेको स्मरण गरे ।

प्रतिष्ठानले भानुभक्तको व्यक्तित्व र कृतित्वका बारेमा असार २९ को अघिल्लो दिन नेपाली साहित्यका अग्रज अनुसन्धानदाता सहभागी गराएर विमर्श गर्ने र आजको दिन प्रधानमन्त्रीबाट श्रष्टा पुरस्कृत गर्ने गरिएको भए पनि कोभिडका कारणले गत वर्षदेखि उक्त कार्यक्रम गर्न सकेको छैन । गत वर्ष भानुभक्तको शालिकमा माल्यार्पण गरेर कार्यक्रम टुङ्गिएको थियो ।

उक्त समारोहमा २५ वर्ष सेवा अवधि पुगेका कर्मचारीलाई पदक तथा प्रमाणपत्र दिइएको थियो भने ५० हजार राशिको ‘नेपाल प्रज्ञा प्रतिष्ठान उत्कृष्ट कर्मचारी पुरस्कार’ बाट शेषराज देवकोटालाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *