काठमाडौं,। हाल आशिंक रुपमा हुदै आएको आन्तरिकतर्फको हवाई उडान आईतबारदेखि पूर्णरूपमा सञ्चालन हुने भएको छ ।
नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै आन्तरिक उडान पूर्णरूपमा सञ्चालन गर्ने अनुमति दिएको हो ।
वायु सेवा सञ्चालकको छाता सङ्गठन नेपाल वायु सेवा सञ्चालक सङ्घले यात्रु उद्धार सहज र सस्तोका लागि उडान सङ्ख्या थप्न सरकार समक्ष माग गर्दै आएको थियो ।
यसअघि कोभिड–१९ महामारीको जोखिम कायम रहेकाले कोभिड अघिको जम्मा उडान सङ्ख्याको ५० प्रतिशत मात्र उडान सञ्चालन गर्न अनुमति दिइएको थियो । यही असार १७ देखि नियमित आन्तरिक उडान शुरु भएको थियो ।
मुलुकमा निषेधाज्ञा लागू भए पनि गत वैशाख २० देखि आन्तरिक उडान स्थगन गरिएको थियो । आन्तरिक उडानतर्फ १० हेलिकप्टर कम्पनीसहित २० ओटा वायुसेवा प्रदायक कम्पनीले उडान गर्दै आएका छन् ।