चौधौं महाधिवेशन र नतिजामुखी कांग्रेस निर्माणको प्रश्न

दुर्गाप्रसाद गौतम।
पार्टी जीवनमा माहाधिवेशनको ज्यादै ठूलो महत्व रहन्छ । कुनै पनि राजनैतिक दलले आफ्नो ऐतिहासिक कार्यभारको समीक्षा आत्मालोचना, वर्तमान जीवनको सजीव चित्र र भविष्यको जीवनको सुस्पष्ट चित्र कोर्ने साधनका रुपमा महाधिवेशनलाई अख्तियारी गरेको हुन्छ । महाधिवेशन पार्टीको विद्यमान विचार विमर्श नीति आदिको गहन छलफल गर्ने थलो मात्र नभएर यसले जनताको राष्ट्रिय जीवनमा परेका सकारात्मक, नकारात्मक भावको समीक्षा गर्ने थलो पनि हो । यही थलोबाट पार्टी जीवनलाई नविनतम बनाई जनउपयोगी र सान्दर्भिक बनाउने विचारको अनुमोदन र नेतृत्व चयन सोही अनुरुपले गरिने परिपाटीको विकासका लागि नै महाधिवेशन पार्टी जीवनका लागि अहम् र महत्वपूर्ण विषयवस्तु हो । प्रजातान्त्रिक राज्य व्यवस्थामा मूल नीतिहरु प्रायः स्थीर प्रकृतिका रहने शास्त्रिय दृष्टिकोणवादीहरुले महाधिवेशनमा केवल नेतृत्व चयनलाई मात्र प्राथमिकता दिने गर्दछन् । किनकी यस्तो विचारको पक्षपोषण गर्नेहरुले धेरथोर सैद्धान्तिक विचारका उपयोगी पक्षहरुमा खासै ध्यान पुर्याउन र समय सापेक्ष यसको उपादेयता माथि गम्भीर छलफल चलाउन आवश्यक नै ठान्दैनन् ।

त्यसैले यिनीहरुको विचारमा जनताबाट गरिने अपेक्षामा पार्टी खरो उत्रन नसक्दा देखापर्ने जनमतको नोक्सानीलाई विश्लेषण गर्ने आधारको चयन नै गलत भै काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने उखान चरितार्थ हुन जान्छ । अतः समयमा नै पार्टी दृष्टिकोणमा समय सन्दर्भले ल्याएको परिवर्तन र उक्त परिवर्तनमा जनताको स्पेस र जनताको स्पष्ट स्पेस बीच पार्टीको पोजिशनलाई परिभाषित गर्न सक्नुपर्छ । यसो गर्दा मात्र पार्टीले समय सन्दर्भ र आवश्यकताअनुसार आफूलाई ढाल्दै जनताको उपभोग्यताको आवश्यकतालाई समेत सम्बोधन गरी आफ्नो सार्थकता पुष्टि गर्न सक्छ । यी सबै कुराहरुको विशेष छलफल, विचार, विमर्श गर्ने सबैभन्दा उपयुक्त र सान्दर्भिक थलो भनेको नै पार्टीहरुको महाधिवेशन हो ।

माथि उल्लेखित कुराहरुलाई आधार बनाउँदै नेपालको सबैभन्दा पाको प्रजातान्त्रिक पार्टी जसको लामो सन्घर्षमयी जीवनगाथा छ र पछिल्लो समयमा नेपाली जनताको ठूलो सद्भाव र सदीक्षा रहँदा रहँदै पनि जनताबीच विद्यमान ऐतिहासिक जीवनको सार्थकतालाई वर्तमानमा पुष्टि गर्न चुक्दै गइरहेको छ । यसका बारेमा चौधौँ महाधिवेशनको पूर्वसन्ध्यामा कांग्रेसका विभिन्न नेता, कार्यकर्ताहरुका बढ्दै गइरहेको क्रियाशीलता व्यक्त विचार आदिलाई विश्लेष्ण गर्दै कांग्रेस पार्टीको पुनर्जीवन के कसरी हुन्छ भन्ने विषयमा प्रकाश पार्ने चेष्टा पंक्तिकार यहाँ राख्न गइरहेको छु । नेपाली कांग्रेस चौधौं महाधिवेशनको संघारमा अन्यौलता बीच नै खडा छ । जसका अधिकांश नेताहरुले उक्त महाधिवेशनलाई केवल पार्टी सत्ता कब्जा गर्ने बाटोको रुपमा मात्र बोध गरेको कुरा स्पष्ट यिनीहरुका सामाजिक संजालमा व्यक्त भएका विचारहरुबाट स्पष्ट हुन सकिन्छ ।

तथापी यदाकदा केही नेताहरुले नेपाली कांग्रेसको नेतृत्वमा सशक्तता नभएकै कारण कांग्रेसको विचारमा सुस्पष्टता नआएको हो भनेका पनि छन् । जस्तो नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चौधौँ महाधिवेशनमा वडा तहदेखि माथि सबै तहसम्म पार्टी जीवनलाई बुझेको क्षमतावान र सशक्त नेतृत्व चयन गर्नुपर्छ भनिरहेका छन् । त्यस्तै युवापुस्ताका नेताहरु विश्वप्रकाश, गगन थापा, प्रदीप पौडेल, चन्द्र भन्डारी, कल्याण गुरुङहरु अब कांग्रेस राजनीतिमा पहिलो पुस्ताका नेताहरु अभिभावकत्वको भूमिका निर्वाह गरी युवा पुस्तमा नेतृत्व हस्तान्तरण हुनुपर्छ भनिरहेका छन् । अर्कोतर्फ आफूलाई दोश्रो पुस्ताका शास्त्रीय उत्तराधिकारी मान्दै पन्ध्रौँ महाधिवेशनमा गगन र विश्वप्रकाशको पुस्ताले नेतृत्व हत्याउन सक्ने आंकलन साथ यो पुस्तालाई रोक्नकै लागि आसन्न चौधौँ महाधिवेशनलाई कुनै न कुनै रुपमा प्रभावित पारी भावी कांग्रेसको नेतृत्वमा आफ्नो हिस्सा सुरक्षित गर्न चाहिरहेको देखिन्छ । उता आजको ठिक छ महिना अगाडिसम्म अधिवेशन नै हुँदैन की जस्तो व्यवहार प्रस्तुत गरी बसेको सस्थापन पक्ष आफू अनुकुल वातावरण देखेर नै कुनै पनि हालतमा चौधौँ महाधिवेशन गर्नु पर्ने र यसो गर्दा सजिलै बाहालवाला सभापति शेरबहादुर देउवालाई पार्टीको सत्तामा पुनः एकपटक स्थापित गर्न सकिनेमा ढुक्क छ ।

यी माथि उल्लेखित कुराहरुलाई हेर्दा नेपाली कांग्रेस चौधौँ महाधिवेशनमा के कस्ता एजेण्डाहरु लिएर आफ्नो अधिवेशनमा जाँदैछ र ती एजेण्डाहरुले प्रत्यक्ष रुपमा जनतामा कस्तो उत्सुकता गाउँदेखि केन्द्रसम्म तरंगित गरेको छ भन्ने कुरालाई खासै ध्यान पुर्याउन सकेको जस्तो देखिँदैन । केवल दिन गन्तीमा नै छोटो समय बाँकी भएका बेला मात्र नेतृत्व हत्याउने होडबाजी र यसैका लागि तलदेखि माथिसम्म खडा भएका कृयाशील सदस्यहरुको विवाद र सोको निरुपण हालसम्म पनि भइनसक्नुले थप पुष्टि गर्न पर्दैन की नेपाली कांग्रेसका अधिकांश नेता तथा कार्यकर्ताहरुको रुची केवल सगठनका के कस्ता पदहरुमा नेतृत्व प्राप्त गर्ने भन्नेमा मात्र केन्द्रित छ । महाधिवेशनमा ज्यादै सन्निकट भैसक्दा पनि केवल नेतृत्वकै बहस मात्र हुनु कांग्रेसको भविष्यको सुनिश्चिताका लागि पति दुर्भाग्यपूर्ण हो भन्ने कांग्रेसी जनहरुले हेक्का राख्नु आवश्यक छ । २०१५ सालदेखि हालसम्मका अद्यावधिक निर्वाचन जहाँ कांग्रेसले भाग लिएको छ त्यहाँ प्राप्त जनमतलाई हेर्दा यो स्थीर प्रकृतिको देखिन्छ । तथापी २०७२ सालपछिको जनमत भनि केही धरासायी तुलनात्मक रुपमा छ । यही तथ्य कम्युनिष्ट पार्टीहरुको हकमा भनी ह्वात्तै बढेको देखिन्छ । यसबाट पनि बुझ्नु पर्दछ जनउपभोग्य राजनैतिक भास्यमा नेपाली कांग्रेस नेपालका कम्युनिष्ट भन्दा निकै पछाडि छ र यो कोर्सलाई उसले परिवर्तन गर्न जरुरी छ जसको सबैभन्दा महत्वपूर्ण थलो महाधिवेशन हो । यसैलाई प्रयोग गर्दै नेपाली कांग्रेसले आफ्नो सुस्पष्ट दृष्टिकोण जनताबीच राख्न सक्नुपर्छ।

२०६३ सालको परिवर्तनपछि नेपाली कांग्रेसको परम्परागत राजनैतिक कोर्समा परिवर्तन आएको छ तर त्यसलाई स्पष्ट गर्ने जरुरत कांग्रेसले महसुस जनता तथा आमकार्यकर्तालाई गराउन सकेको छैन। यतिमात्र नभई नेपाली कांग्रेस वैचारिक रुपमा बीपीको समाजवादी चिन्तनबाट केही स्खलित भएको छ । यो स्खलनको स्पष्ट आवश्यकता कांग्रेसले नत पुष्टि गर्ननै सकेको छ नत पुष्टि गर्नेतर्फ चासो नै देखाएको छ । त्यसैले नेपाली कांग्रेसका अग्रणी नेताहरुको त्याग तपस्या वलिदानलाई मात्र व्याख्या गर्दा पछिल्लो पुस्ता कांग्रेसको वैचारिक, व्यवहारिक तथा कार्यगत धरातललाई मेरा हजुरबुबाले घिउ खानु भाको ल सुङ सुङ मेरो हातको रुपमा अथ्र्याउन थालेका छन् जुन नेपाली कांग्रेसको वर्तमान र आगामी भविष्यका लागि अस्वस्थकर वास्विकता हो ।

त्यसैले कांग्रेसले अब साच्चिकै आफूलाइै बीपीको वैचारिक धरातलबाट सिंचित क्रान्तिकारी पार्टीका रुपमा यसको छबीलाई निरन्तर कायमा राख्न चौधौँ महाधिवेशनमा निम्न विषय वस्तुहरुमा कांग्रेसको स्पष्ट दृष्टिकोण के हो र के हुने भन्ने स्पष्ट पार्न जरुरी छ ।

१) बदलिँदो परिस्थितिमा बीपीको समाजवादप्रति राष्ट्र र राष्ट्रियताप्रति, राजनीतिक व्यवस्था प्रति , धर्मका प्रति, आर्थिक, सामाजिक, साँस्कृतिक व्यवहारप्रति रहिआएको दृष्टिकोणबाट कांग्रेस स्खलित हुनुका स्पष्ट कारणहरुको विश्लेष्ण गर्दै बीपीको उक्त दृष्टिकोण प्रति वर्तमान कांगे्रसको दृष्टिकोण के ? भन्ने कुरा तथ्यगतरुपमा नै व्याख्या गर्न जरुरी छ ।

२) राज्य व्यवस्थाको संचालन गर्ने अवसरमा नेपाली कांग्रेस उपलब्ध राज्यका साधनहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय परिचालनमा के कस्तो नीति अवलम्वन गर्न चाहन्छ र त्यसको प्रत्यक्ष तथा परोक्ष लाभ राष्ट्र तथा जनतामा के कस्तो रुपले वितरित हुन्छ भन्ने सम्बन्धमा कांगे्रसको स्पष्ट दृष्टिकोण जरुरी छ ।

३) वर्तमान समयमा विश्वव्यापीकरण, निजीकरण तथा खुल्लापनको कारण नेपाली अर्थव्यवस्थामा बढ्दै गइरहेको विदेशी हस्तक्षेपलाई न्यूनिकरण गर्ने सम्बन्धमा नेपाली अर्थतन्त्रका सन्दर्भमा निजीकरण तथा उदारिकरणको हिमायतीको पर्यायवाची बनेको कांग्रेससँग के दृष्टिकोण छ र उसको तीब्र वैदेशिक हस्तक्षेप न्युनिकरणमा के कस्तो भूमिका हुनेछ भन्ने कुरालाई सम्बोधन गर्न कांग्रेसले अवलम्वन गर्ने नीति र दृष्टिकोण स्पष्ट हुन जरुरी छ ।

४) वर्तमान संविधानमा रहेका अतिविवादित विषयहरुको सुधार तथा खारेजीका सम्बन्धमा वर्तमान कांग्रेसको धारणा के हुने भन्ने स्पष्ट दृष्टिकोण हुन आवश्यक छ । यसले विभिन्न समुदायको जनताको चासो सम्बोधनमा कांग्रेसको संवेदनशीलतालाई उजागर गर्नेछ।

५) वर्तमान समयमा नेपालमा संघीयताको सवालमा धेरै चुनौति र प्रश्नहरु खडा भएका छन् । जसले संघीयताको स्पष्ट औचित्य पुष्टिका आधार आवश्यक देखिएका छन् । यस सन्दर्भमा नेपाली कांग्रेससँग संघीय गणतन्त्रलाई सस्थागत गर्दै संघ तथा प्रदेशको औचित्यता पुष्टि गर्न के कस्ता आधारहरु प्रस्तुत गर्ने हो सो को निक्र्यौल गरि प्रस्तुत गर्न जरुरी छ ।

६) अन्तर्राष्ट्रिय मुलुकहरुसँगको सम्बन्ध र नेपाली सार्वभौमिकता रक्षामा यस्तो सम्बन्धको अवसर र चुनौतिको स्पष्ट व्याख्या र अन्तर्राष्ट्रिय सम्बन्धलाई नेपाल उपयोगी बनाउने स्पष्ट आधारहरुबारे छलफल तथा तिनीहरुको प्रयोग बारेमा कांगे्रसको दृष्टिकोण के हुने भन्ने निश्चित गर्न जरुरी छ ।

७) वर्तमान नेपाली समाजको निरासाका जडसुत्रवादी आधारहरु कुशासन, भ्रष्टाचार, नातावाद, तथा कृपावादको सम्बन्धमा नेपाली कांग्रेसप्रति जनताको रहँदै आएको शंकाको प्रश्नमा कांग्रेसको नीतिगत विश्वसनिय आधार के कस्तो हुने र यस्ता सवालहरुको शंकाको सुविधाबाट जनतालाई मुक्त हुन आवान गर्ने कांग्रेससँग भएका र हुने आधार सम्बन्धमा स्पष्ट विश्वसनिय व्याख्या जरुरी छ।

८) शिक्षा स्वास्थ्य तथा रोजगारी सम्बन्धमा कांगे्रसको नीतिगत दृष्टिकोण र व्यवहारगत कार्यशैलीका सम्बन्धमा स्पष्ट खाका प्रस्तुन हुन आवश्यक छ ।

९) नेपाली अर्थतन्त्रमा निरुसाहित हुँदै गइरहेको उत्पादनमुखी अर्थतन्त्रलाई आयात तथा विचौलियामुखी अर्थतन्त्रबाट पुनः उन्पादनमुखी बनाउने सुचांक र आधारहरुमा रही कांग्रेसले अवलम्वन गर्ने स्पष्ट आर्थिक तथा वित्तिय नीतिमा स्पष्टता सहितको व्याख्या जरुरी छ ।

यी माथि उल्लेखित विषयमा कांग्रेसले लिने नीति र दृष्टिकोणबाट मात्र वर्तमान कांग्रेसप्रतिको पुनः जीवन र नतिजामुखी कांग्रेस निर्माण गर्न सकिन्छ । अन्यथा नेतृत्वको होडबाजी र तानातानीकै लागि हुने महाधिवेशन र आउने नेतृत्वले नेपाली कांग्रेसलाई पुनर्ताजगीसहित पहिलैकै अवस्थामा पुर्याउँछ भन्ने डम्फु फुकाई केवल कागती बोटमा नास्पाती फल्छ भन्नु सरह हो ।

लेखकः आर्य एकेडेमी सीतापाईलाका संस्थापक प्रिन्सिपल हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *