आयोगलाई माओवादी केन्द्र खारेजीको माग चाँडो कार्यान्वयन गर्न पूर्वमाओवादी नेताको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्र खारेजी माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएका पूर्वमाओवादी नेताहरुले प्रमुख निर्वाचन आयुक्तलाई भेटेर आफूहरूको माग चाँडो कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

शुक्रबार कान्तिपथस्थित आयोग कार्यालय पुगेका टोपबहादुर रायमाझी, मणि थापालगायतका नेताहरूले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर माओवादी केन्द्र तत्काल खारेज गर्न ताकेता गरेका हुन् ।

माओवादी केन्द्र दल खारेज गर्न माग गर्दै उनीहरूले बुधबार आयोगमा उजुरी दिएका थिए । सोही उजुरीको कारबाही प्रक्रिया कहाँ पुग्यो भनेर शुक्रबार जानकारी लिन उनीहरु आयोग गएका हुन् । रायमाझीले यो माओवादी पार्टीको विषय नभई समग्र राजनीतिक दलको विषय भएकाले आयोगलाई गम्भीर हुन आग्रह गरेका थिए ।

उनले नेपालका राजनीतिक दलहरू सबैको अवस्था हेर्न पनि आयोगलाई सुझाव दिएका थिए । त्यसक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रक्रिया अघि बढेको जानकारी गराएका थिए ।

माओवादी छोडेर २०७७ फागुन २८ गते रामबहादुर थापासहित, टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्ट, प्रभु साह लगायत नेताहरु एमाले प्रवेश गरेका थिए । एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले उनीहरु सबैलाई कारबाही गरेको थियो । त्यसमध्ये ५ जना सांसद थिए । उनीहरुको सांसद पद समेत गुमेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *