मार्च महिनामा तेर्सो परेर अड्किएपछि सूइज नहरलाई अवरुद्ध पार्दै विश्व व्यापारमा असर पारेको एउटा विशाल मालवाहक पानीजहाज काममा फर्किएको छ ।
इजिप्टले उक्त पानीजहाज कम्पनी र बिमक कम्पनीसँग क्षतिपूर्तिसम्बन्धी एउटा सम्झौता गरेपछि त्यसलाई नियन्त्रणबाट छोडेको हो । प्रत्यक्षदर्शीहरूका अनुसार एभरग्रीन नामक उक्त पानीजहाज स्थानीय समय अनुसार बुधवार दिउँसो भूमध्य सागरतर्फ लागेको थियो ।
उक्त पानीजहाजलाई उक्त नहर पर्ने सहर इस्माइलिआमा तीन महिनासम्म नियन्त्रणमा राखिएको थियो ।
क्षतिपूर्तिसम्बन्धी सम्झौताको सर्तहरू सार्वजनिक गरिएका छैनन् तर इजिप्टले ५५ करोड अमेरिकी डलर माग गरेको थियो। १९३ किलोमिटर लामो सूइज नहरले भूमध्य सागरलाई उत्तरी पुछारमा र दक्षिणतर्फ लालसागरलाई जोड्दै एशिया र युरोपबीचको सबैभन्दा छोटो जलमार्गको काम गर्छ ।
तर त्यस्तो महत्त्वपूर्ण जलमार्ग ४०० मिटर लामो एभरग्रीन उच्च वायुका कारण छड्के पर्दै पानीमुनिको सतहलाई छुँदा अड्किएपछि सयौँ पानीजहाजहरूलाई ट्राफिक जाममा पारेको थियो । मालवाहक उक्त पानीजहाज छ दिनपछि पुनः तैरन सम्भव पारिएपछि नहर खुलेको थियो । यसक्रममा एकजना मानिसले ज्यान गुमाएका थिए।