मलेसिया रोजगारी याे वर्ष नखुल्ने

काठमाडाैँ । हालसम्म श्रम स्वीकृति जारी भएको संख्याको आधारमा सबभन्दा ठूलो गन्तव्य मलेसिया रोजगारी यो वर्ष सुरु नहुने भएको छ । मलेसियास्थित नेपाली राजदूतावासका श्रम काउन्सेलर दीपक ढकालका अनुसार एकातिर बढ्दो कोरोना महामारी र अर्कोतिर कोरोनाविरुद्ध खोपको जोहो हुन नसक्दा सन् २०२२ पछि मात्र नेपालीहरू रोजगारीका लागि मलेसिया जान पाउने सम्भावना छ ।

‘आउँदो डिसेम्बरसम्म त मलेसियाले नेपालीलगायत विदेशी कामदार नभित्र्याउने लगभग निश्चित जस्तै छ,’ उनले भने, ‘सन् २०२२ को सुरुवातदेखि पनि रोजगारी सुचारु होला भन्ने अनुमान मात्र हो ।’ अघिल्लो वर्षको मार्चदेखि लकडाउन सुरु गरिए पनि त्यहाँ अझै पनि कोरोनाको प्रकोप कायमै छ ।

ढकालले महामारीका कारण मलेसियाको अवस्था खराब रहेको उल्लेख गर्दै अहिलेसम्म कोरोनाविरुद्ध दुई डोज खोप पाउनेको संख्या न्यून रहेको बताए । ‘अहिलेसम्म ९३ लाखले पहिलो र २७ लाखले दोस्रो डोजको खोप लगाएका छन्,’ उनले भने, ‘त्यसैले अहिलेसम्म धेरैको अनुमान डिसेम्बरपछि अवस्थामा केही सुधार हुन्छ कि भन्ने अपेक्षा छ ।’ कोरोना महामारी सुरु भएपछि पहिला नेपालले बन्द गरेको रोजगारी पछिल्लो चरणमा मलेसिया सरकारले बन्द गरेको हो ।

मलेसिया रोजगारी बन्द भएको करिब डेढ वर्ष भइसकेको छ । यतिखेर विदेशी कामदार भित्र्याउन मलेसिया सरकारले खासै अग्रसरता नलिएको उनको भनाइ छ । वैदेशिक रोजगार विभागले मलेसिया लगायत वैदेशिक रोजगारीमा जान चाहनेका लागि केही दिनअघि श्रम स्वीकृति दिन थाले पनि रोजगारदाताले कामदारको माग नगर्दा श्रम स्वीकृति लिनेको संख्या बढ्न सकेको छैन ।

विभागका अनुसार हालसम्म सबै गन्तव्य मुलुकका लागि श्रम स्वीकृति लिएका करिब ५५ लाखमध्ये रोजगारीका लागि मलेसिया जान करिब १० लाखले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिएकामध्ये यतिखेर करिब एक लाख ६० हजार मलेसियामा रहेको ढकालले बताए । ‘वैधबाहेक कागजपत्र पूरा नगरेका कैयौं नेपाली पनि मलेसियामा रहेको अनुमान छ,’ उनले भने । म्यानपावर व्यवसायी भने मलेसियामा वैध र अवैध गरी करिब तीन लाख नेपाली रहेको अनुमान गर्छन् । याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *