USAID

तीन दिन हिँडेर चामलबिनै फिर्ता


बाजुरा । वर्षाका बेला विभिन्न बहाना बनाएर ठेकेदारले ढुवानी नगरेपछि, बाजुरा जिल्लाको हिमाली क्षेत्रमा खाद्यान्न अभाव भएको छ । हिमाली गाउँपालिकाको कवाडी अस्थायी डिपोमा ठेकेदारले सम्झौता भएको वर्ष दिनसम्म पनि चामल ढुवानी नगर्दा महिना दिनदेखि चरम खाद्य संकट भएको हिमाली गाउँपालिका–३ का वडा अध्यक्ष धनलाल रोकायाले बताए ।

अनुदानको चामल ढुवानी नभएपछि हिमाली गाउँपालिका १, २, र ३ को बिच्छँया, ४ र ५ को रुगीनमा खाद्य संकट भएको वडा अध्यक्ष रोकायाले बताए । हिमाली गाउँपालिका–१ बिच्छँयाका धर्मलाल रोकाया तीन दिन हिँडेर कवाडी अस्थायी डिपोमा चामल किन्न पुुगे । ‘तर, डिपोमा एक दाना पनि चामल नपाएपछि रित्तो हात फर्कें, चामल नपाएपछि सिस्नो कन्दमूल गिठ्ठा भ्याकुरले छाक टार्नुपर्ने भएको छ’, रोकायाले भने ।

हिमाली गाउँपालिका–१ बिच्छँयाबाट चामल किन्न २५ जना आएको तर चामल नपाएपछि रित्तो हात घर फर्किन लागेको उनले बताए । ‘हामी चामल पाइन्छ भनेर आएका हौं, तर नपाए पछि घर फर्किंदै छौं’, उनले भने ।

त्यहाँबाट आउने सर्वसाधारणले वर्षाका बेला खाद्यान्न अभाव भएको भन्दै गुनासो गरेका छन् । ‘तीन दिन लगाएर कवाडी डिपो पुग्यौं, चामल पाएनौं । अबको विकल्प कोल्टीको खाद्यमा हो, कोल्टी पुुग्न फेरि एक दिनको पैदल हिँड्नुपर्ने हुन्छ’, घरबाट साहूसँग चार हजार सापटी ऋण निकालेर चामल किन्न आएका चन्द्रबहादुर बुढ्थापाले बताए ।

‘कोल्टी जाऔं भनेपछि ऋण निकालेर ल्याएको पैसा सबै बाटोमा खान मात्र पुग्छ, अनि चामल के ले किन्ने ?’, बुढ्थापाले भने । साविकको बिच्छँया गाविसमा मात्र चार हजार जनसंख्या छ । स्थानीय उत्पादनले वर्षमा दुई महिना पनि खान पुग्दैन । हिमाली गाउँपालिका बाजुराको सर्वाधिक बिकट गाउँपालिका हो । यो गाउँपालिकाको टाढाको गाउँ पुग्न सदरमुकाम मार्तडीबाट एक साता लाग्ने गरेको छ ।

कवाडी अस्थायी डिपोका लागि खाद्य संस्थान बाजुराले यो वर्ष मात्र ३ हजार क्विन्टल चामलको कोटा स्वीकृत गरेर ठेक्का भएको थियो । मार्तडीबाट एलबी कन्सट्रक्सन, कोल्टिबाट ओम शिव कन्सट्रक्सन र धनगढीबाट बडिमालिका कन्सट्रक्सन एण्ड अर्डर सप्लायर्सले ढुवानी जिम्मा पाएको थियो । तर, अहिलेसम्म १५ सय कुइन्टल मात्र ढुवानी भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको समाचार अन्नपूर्णपोस्ट दैनिकमा छापिएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *